aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नयाँ भाइरसः प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, १५ पुस २०७७
नयाँ भाइरसः प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

काठमाडौं । भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्।

यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले अन्नपूर्णसँग भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो। टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु।’

बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए। त्यसपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई सताएको छ। ‘जनवरी १ पछि के गर्ने ? अझै अन्योलमा छु’, उनले भने।

आफूजस्तै अलपत्र परेका नेपालीका लागि नेपाल सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ। हाल जारी यात्रा प्रतिबन्धका कारण जरुरी अवस्थामा पनि नेपाल जान नपाउने थुप्रै नेपाली छन्। 

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा प्राध्यापनरत जनस्वास्थ्य विज्ञ डा। पदम सिम्खडाले बेलायतबाहेक अन्य मुुलुकमा पनि नयाँ भाइरस भेटिँदै गएकाले यात्रा प्रतिबन्ध कायम राखिराख्न सम्भव नहुने बताए।

प्रतिक्रिया दिनुहोस