
काठमाडौं । नेपालको भीमकाय छिमेकी मुलुक चीनसँग लामो समयदेखि विभिन्न क्षेत्रमा नेपालको घनिष्ठ सम्बन्ध रहँदै आएको छ । नेपालका विभिन्न विकासदेखि अन्य क्षेत्रमा चीनले सहयोग गर्दै आएको छ । नेपालमा हुने लगानीमा ठूलो हिस्सा राख्दै आएको चीनले अब नेपालका निजी विद्यालयले चिनियाँ भाषा पढाए शिक्षकको तलब चीन आफैंले बेहोर्ने बताएको छ ।
चीनको यस किसिमको घोषणापछि नेपालको कैयौं नीजि विद्यालयले विद्यार्थीलाई चिनियाँ भाषा सिक्नका लागि अनिवार्य नै गरिसकेको अमर उजालाको अनलाइन संस्करणले जनाएको छ । यसको बदलामा चीनले शिक्षकलाई तलब दिनेछ । यद्यपि यो विषयमा नेपाल सरकारले विद्यालयसँग कुनै विषय अनिवार्य गर्ने अधिकार नभएको जनाएको छ ।
शिक्षकलाई तलब काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा दिने प्रस्ताव गरिएपछिको समयमा यो फैसला गरिएको हो । नेपालका कैयौं नीजि विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीले चिनियाँ भाषा (मन्डारियन) पहिलेदेखि नै विद्यालयमा पढाइँदै आएको बताएका छन् ।
एलआरआई स्कुलका संस्थापक शिवराज पन्तका अनुसार पोखरा, धुलिखेल तथा देशका केही ठाउँमा रहेका नीजि विद्यालयमा चिनियाँ भाषा विद्यार्थीका लागि अनिवार्य गरिसकिएको छ ।
यसैगरी युनाइटेड स्कुलका प्रधानाध्यापक कुलदीप एनका अनुसार आफूहरुले दुई वर्षअगावै चिनियाँ भाषालाई अनिवार्य विषयको रुपमा लागू गरिएको बताए । चिनियाँ दूतावासले आफूहरुलाई यसका लागि सित्तैमा शिक्षक उपलब्ध गराएको बताए ।
शुभतारा स्कुलका प्रधानाध्यापकले भने, 'बालबालिकालाई पनि आफ्नो रुचीको विषयमा पढ्ने अधिकार छ । यदि कोही जापानी वा जर्मन पढाउन चाहन्छन्, भने हामी त्यसको पनि स्वागत गर्छौ ।'
सरकारले भने विदेशी भाषामा पढाउने विद्यालयलाई अधिकार भएको जनाएको छ । कुन भाषा अनिवार्य गर्ने भन्ने अधिकार विद्यालयलाई नभएको सरकारी पाठ्यक्रम विभागले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस