
एजेन्सी । तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ। यूकेमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन्। राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित सङ्क्रमण पहिचान गर्न लागिपरेको बताएका छन्।
गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए। हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन्।
भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ। यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस