काठमाडौं । गतवर्ष चीन सरकारसँग अम्लीय जातका फलफूल निर्यातका लागि भएको सम्झौताअनुसार यसै वर्ष चीन निर्यात गर्ने तयारी सरकारले थालेको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको राजकीय भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलफूलहरू चीन निर्यातका लागि सम्झौता भएको थियो ।
दुई देशबीच अम्लीय जातका फलफूल निर्यातसम्बन्धी मस्यौदा प्रस्तावमा भएको सहमतिअनुसार काम भएको भए यति बेलासम्म सुन्तला, जुनार, कागतीलगायत फलफूल चीनमा निर्यात हुन थालिसकेको हुन्थ्यो । तर, प्रक्रियामा केही ढिलाइ भएको भए पनि यसै वर्ष निर्यात गर्ने गरी काम अघि बढिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दाबी गरिरहेको छ ।
‘निर्यात प्रक्रियालाई मूर्तरूप दिन हामी निरन्तर प्रयासरत छौं, केही समय ढिलाइ अवश्य भएकै हो । परीक्षणका लागि भए पनि केही समयमै चीनको तिब्बतस्थित जिजान क्षेत्रमा फलफूल निर्यात हुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले आर्थिक अभियान दैनिकसँग भने । ढिलै भए पनि काम सकारात्मक तरीकाले अघि बढेकाले चाँडै निर्यात शुरू हुने उनको भनाइ थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम र नेपाल कृषि अनुसन्धान परिषद् नेपालले निर्यातका लागि जिम्मेवारी अनुसार काम गरिरहेका छन् । यतिवेला बगैंचा दर्ता गर्ने, फलफूलहरू रोग तथा किरामुक्त छ कि छैन भन्ने कुराको अनुगमन गर्ने कार्यहरू भइरहेका छन् । यससँगै मन्त्रालयले सुन्तला उत्पादक किसान, व्यापारी र चीनियाँ एजेन्टको बीचमा सहकार्य गराउने काम समेत गरिरहेको बताएको छ ।
यसअघि सन् २०१२ मा नेपाल सरकार र चीन सरकारविच यस्तै सहमति भएको भए पनि त्यसवेला सहमति पत्रमा रोग किरा मुक्त बगैंचामा फलेका फलफूल हुनुपर्ने भन्ने प्रावधानले गर्दा नेपालबाट अम्लीय जातका फलफूल निर्यात हुन सकेको थिएन । तर, गत वर्ष भएको सहमति अनुसार रोग किरा मुक्त फलफूल मात्र भनिएकाले नेपाललाई सम्झौता कार्यान्वयन गर्न सजिलो हुने देखिएको छ ।
नेपालले पुर्याएको मापदण्ड चीनले प्रभावकारी ठानेमा चाँडै नै २र३ सय मेट्रिक टनसम्म फलफूल निर्यात गर्न सकिने अवस्थामा आफूहरू रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई, सिन्धुलीका प्रमुख देवराज अधिकारीले जानकारी दिए । अहिले परीक्षणका रूपमा निर्यात भएमा उत्पादन बढाएर निर्यात गर्नतर्फ लाग्नु पर्ने उनले बताए ।
सम्झौतामा उल्लेख भएअनुसार निर्यातका लागि नेपालले फलफूलहरू कम्तीमा पनि २१ दिनसम्म निश्चित तापक्रममा भण्डारण गरेर राख्नु पर्ने छ भने ओसारपसार गर्दा पनि कोल्डस्टोरेज भएको गाडीबाट गर्नुपर्नेछ । त्यसैले यस्ता प्राविधक कुराहरू नेपालका लागि चुनौती भएको बताइएको छ ।
स्थानीय बजारमा उत्पादन भएका फलफूलहरू अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकियो भने किसानको हौसला बढ्ने र अझ बढी उत्पादन गर्न सकिने अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस