aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मुकेश अम्बानीलाई उछिनेर यी चिनियाँ व्यापारी बने एशियाकै सर्वाधिक धनी व्यक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ पुस २०७७
मुकेश अम्बानीलाई उछिनेर यी चिनियाँ व्यापारी बने एशियाकै सर्वाधिक धनी व्यक्ति

एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्। जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो। यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएको बीबीसीले उल्लेख गरेको छ । 

बीबीसीका अनुसार ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्। उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए। जङले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको शेअर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। तीन महिनापछि बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्‍कङको शेअर बजारमा पुग्यो।

त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्‍याइदियो। ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए। त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्‌कङको शेअर बजारमा बलियो बनेर बसेको छ। पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ। बेइजिङ बान्ताई बायोलजिकलको शेअरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ। उक्त फर्म कोभिड १९ को खोप बनाउन संलग्न छ।

प्रतिक्रिया दिनुहोस