aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

हल खुले पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा सुनसान

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, १७ पुस २०७७
हल खुले पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा सुनसान

हेटौंडा । पुस १० गतेबाट चलचित्र हल खुले पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा माहोल सुनसान छ। सरकारले चलचित्र घर सञ्चालनको अनुमति दिए पनि नयाँ चलचित्र हलमा नआउँदा दर्शक हलको ढोकासम्म पुगेर फर्कने गरेका छन्। हेटौंडा— ४ स्थित ओम्याक्स सिनेमा हलमा पुस ११ गते नेपाली चलचित्र सेन्टिभाइरस प्रदर्शन गरिएको थियो। 

‘पुरानै चलचित्र देखाएर हल चलाउन सकिँदैन’, ओम्याक्स सिनेमा हलका लेखा प्रमुख दिनेश तिमल्सिनाले भने, ‘दर्शक दैनिक आउँछन्, तर नयाँ सिनेमा नहुँदा फर्केर जान्छन्, हामीले हल खोलेपनि सञ्चालन गर्न सकेका छैनौं।’ सरकारले भनेअनुसार स्वास्थ्य सतर्कताका सबै मापदण्ड पूरा गरेर हल सञ्चालन गरेको उनले बताए। ३ सय ७८ जना सिट क्षमताको हलमा भौतिक दूरी कायम गरेर चलचित्र प्रदर्शन गर्ने तयारी छ।

हेटौंडा ४ स्थित एनएस सिनेमा हलमा भने धमाधम मर्मतको काम भइरहेको छ। एक साताभित्र हल सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम भइरहेको सञ्चालक कैलाश ढकालले बताए। ‘हल नचल्दा कार्पेट, बत्ती र एसी बिग्रिएको छ’, उनले भने, ‘मर्मतमा मात्रै २० लाख रुपैयाँ खर्च हुने भएको छ।’ 

हल खुलेपनि नयाँ चलचित्र नआउँदासम्म दर्शक तान्न नसक्ने उनको भनाइ छ। ‘भारतीय चलचित्र नेट फिक्स र हट स्टारले अनलाइनबाटै देखाइरहेको छ,नेपाली वितरकलाई दिएको छैन’, उनले भने, ‘नेपाली चलचित्र दर्जनौं तयार भएर बसेका छन्, तर चलचित्र विकास बोर्डले हलमा जान अझै दिएको छैन।’ एनएस सिनेमा हलसँग २ सय ६८ जना र १ सय ६० जना सिट क्षमतका दुईवटा हल छन्।

प्रतिक्रिया दिनुहोस