aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
११ अर्बभन्दा बढी कर चुहावट

बहुराष्ट्रिय कम्पनीको चरित्र उस्तै, एनसेलपछि बोटलर्स नेपालले ६ वर्षदेखि सरकारलाई बुझाएन पुँजीगत लाभकर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ पुस २०७७
बहुराष्ट्रिय कम्पनीको चरित्र उस्तै, एनसेलपछि बोटलर्स नेपालले ६ वर्षदेखि सरकारलाई बुझाएन पुँजीगत लाभकर

काठमाडौं । एकपछि अर्को गर्दै बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो चरित्र देखाउन थालेका छन् । एनसेलको कर प्रकरण सकिएको एक वर्षपनि बित्न नपाउँदै अर्को बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले पनि सरकारलाई तिर्नुपर्ने कर नतिरको देखिएको छ । कम्पनीले सरकारलाई पुँजीगत लाभकर, त्यसमा लाग्ने ब्याज र  कर नतिरे वापत शतप्रतिशत तिर्नुपर्ने कर सहित ११ अर्बभन्दा बढी कर तिर्नुपर्ने देखिएको छ । यस विषयमा राजस्व अनुसन्धान विभागले गत मंसिर २३ गते छापा मारेर अनुसन्धान गरिरहेको छ । 

ख्याती प्राप्त अमेरिकन बहुराष्ट्रिय कम्पनीको चेनका रुपमा नेपाल भित्रिएको बोटलर्स नेपाल, बोटलर्स नेपाल(तराई) र ट्रोइका ट्रेर्डस प्रालि गरी तीन कम्पनी नेपालमा सञ्चालित छन् ।  यी तीनै कम्पनीको शेयर २०७१ सालमा दुबईमा दर्ता भएको सब्को एशिया ( साउथ अफ्रिकन बोटलिङ कम्पनी) कम्पनीले खरिद गरेको थियो । १६ अर्ब रुपैयाँमा खरिद गरिएको उक्त कम्पनी खरिद गर्दा लाग्ने २५ पुँजीगत लाभकर नबुझाएका कारण अहिले कम्पनीले सरकारलाई ११ अर्ब ६० भन्दा बढी कर बुझाउनु पर्ने देखिएको हो । 

दुबईमा दर्ता भएको कम्पनीले नेपालमा सञ्चालित बोटलर्सको शेयर खरिद गर्दा सरकारलाई तिर्नुपर्ने लाभकर बुझाएन । यसअघि एनसेलले पनि यस्तै प्रकृतिको हर्कत गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि एनसेलले सरकारलाई पुँजीगत लाभकर, कर नबुझाएवापत लाग्ने शतप्रतिशत कर र ब्याजसमेत हिसाव गरी गत वर्षमात्र कर विवाद टुंगाएको हो । 

दि कोकाकोला कम्पनीले कोकाकोला सब्को एशियाको १६ अर्ब रुपैयाँमा खरिद गरेको हुनाले आयकर ऐनको दफा ९५ बमोजिम शेयर खरिद बिक्रीबाट हुने आम्दानीको २५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई बुझाउनु पर्ने व्यवस्था छ । 
सो व्यवस्था अनुसार १६ अर्बमा खरिद भएको उक्त कम्पनीले सरकारलाई २५ प्रतिशतका दरले ४ अर्ब रुपैयाँ लाभकर बुझानुपर्ने हुन्छ ।

कम्पनीले शेयर खरिद भएदेखि हालसम्म कर नबुझाएकाले आयकर ऐनअनुसार शतप्रतिशत थप शुल्क तिर्नुपर्ने हुन्छ । स्वघोषणा गरी कर तिर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले त्यसो नगरेकाले कर समयमा नबुझाएको अवधिको १५ प्रतिशत ब्याज पनि तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्षको करको ब्याज जोड्दा अहिलेसम्म कम्पनीले सरकारलाई पुँजीगत लाभकरको ब्याजमात्रै करिब पौने चार अर्ब जति तिर्नुपर्ने देखिएको छ । 

बोटलर्स नेपाल खरिदका बेला तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेको विशेष सुत्रबाट जानकारी पाएपछि राजस्व अनुसन्धान विभागले गत मंसिर अन्तिम साता कम्पनीमा छापा मारेको थियो । विभागले छापा मारेर कम्पनीको महत्वपूर्ण डकुमेण्ट नियन्त्रणमा लिएको छ । 

त्यसयता कम्पनीको वारेमा अध्ययन तथा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । ‘अहिले अनुसन्धानको विषय भएकाले यसमा बोल्दा अनुसन्धान नै प्रभावित हुन्छ,’ उनले भने ‘राजस्व चुहावटको विषयमा अनुसन्धान गर्दै छौं ।’ ६ महिनाभित्र सकिने गरी कम्पनीको विस्तृत विवरण अध्ययन भइरहेको छ । ’

१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बोटलर्स नेपाल लिमिटेड कम्पनीमा  ७६.१७ प्रतिशत शेयर दुबईमा दर्ता भएको कोकाकोला सब्को एसिया को रहेको छ भने २२ प्रतिशत शेयर गोर्खा ब्रुअरी र १.८४ प्रतिशत शेयर नेपाली सर्वसाधारणको रहेको छ ।
ऐनसेलको जस्तै बोटलर्समा पनि नेपाली कम्पनीको शेयर खरिद बिक्री भएको छैन । विदेश शेयरमात्रै बिक्री भएको हो ।  बोटलर्स नेपालमा ७६.१७ प्रतिशत शेयर स्वामित्व रहेको कोकाकोला सब्को एसियाले तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेका कारण कम्पनीले लैजान पाउने लाभांशमा रोक लगाउन राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकलाई  सुझाएको छ । 

विदेशी कम्पनीले नेपालमा उद्योग व्यवसाय सञ्चालन गरेवापत लैजान लाभांश विदेशी मुद्रामा लैजानु पर्ने हुन्छ र सोको व्यवस्थापन राष्ट्र बैंकले मिलाउने गरेको छ । कम्पनीले विगत ६ वर्षदेखि विदेशी मुद्रामा लाभांश लैजान स्वीकृत लिन राष्ट्र बैंक नआएको राष्ट्र बैंकले बताएको छ । यस विषयमा अर्को  निर्देशन नआएसम्का लागि राष्ट्र बैंकले कम्पनीको विदेशी मुद्रा सटहीमा रोक लगाएको छ । 

प्रतिक्रिया दिनुहोस