
सिरहा । लहान नगरपालिका १२ भोटियाटोलकी दशनी मल्लिक (डोम) को परिवार बस्ने एक कोठे घर छ । त्यही घरमा उनी पति लगन मल्लिक र चार छोराछोरी प्रमोद, कविता, आनन्द र जिवनसँग बस्छिन् । एक कोठे घरमा आमाबुवासँगै सुत्न कठिनाई भएकाले उनका छोरा गर्मी महिनामा घर अगाडि रहेको हाटबजारको सेडमै रात बिताउँछन् । जाडोमा परिवाका सबै सदस्य एउटै कोठामा कोचिएर सुत्छन् ।
खाना बनाउने अलग भान्सा कोठा छैन् । पानी नपर्दा घर बाहिर र पानी परेका बेला घरभित्रै खाना पकाउँछन् । उनका छिमेकी शान्ति मल्लिकको पनि अवस्था त्यस्तै छ । उनको एउटै छानोमा दुई कोठे घर छ । एउटामा ढोका छ, अर्कोमा छैन । ढोका भएको कोठामा उनको छोरा रञ्जित बुहारी बबि र नाती शंकर सुत्छन् । शान्ति आफु छोरा सञ्जित, श्रवण र छोरी रञ्जुसहित अर्को कोठामा । शान्तिको पति केही वर्ष बितिसकेका छन् ।
यी दुई डोम परिवारको ६ वर्षअघि सम्म फुसकै भएपनि बस्न लायक घर थियो । उनीहरुलाई जनता आवास कार्यक्रमबाट पक्की घर बनाइदिने भन्दै पुरानो फुसको घर भत्काउन लगाइयो । पक्की घरका लागि जग हालेर केही काम पनि भयो तर, ६ वर्ष बित्दा पनि उनीहरुको घर तयार भएको छैन । पक्की घरमा बस्ने उनीहरुको सपना अधुरै छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस