aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोशीमा भारतीय मनोमानी, नेपाली गाउँ डुब्ने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
कोशीमा भारतीय मनोमानी, नेपाली गाउँ डुब्ने निश्चित

कोशी परियोजनले सप्तकोशी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ। भारतले नेपाललाई कुनै जानकारी दिएको छैन। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबरगाँडा बस्ती नै डुबेको थियो।

भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन्। परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए। निर्माण नरोके पश्चिम तटबन्धमा जोखिम बढ्ने उनको भनाइ छ।

नेपाल–भारत कोशी–सम्झौता–१९५४ विपरित तीन वर्ष लगाएर च्यानल खनिएको थियो। कोशीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेको बेला च्यानल खनेर पश्चिम तटबन्ध तर्फ सप्तकोशीको पानी फर्काउन लागेका छन्।

नेपाली भुभाग डुबानमा पर्ने गरी भारतीय पक्षले च्यानल खन्ने काम गरिरहेको हनुमाननगर कंकालनी नगरपालिका मेयर शेलेश कुमार साहले बताए। परियोजनाले जर्बजस्ती नेपाली भूभागको जग्गामा हस्तक्षेप गर्दै आएको छ। नेपाली भुभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत समेत ३० वर्षदेखि परियोजनाका कर्मचारीले नगरेको स्थानीय बताउँछन्। सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले गहिरो र फराकिलो बनाउने विषयसमेत जानकारी नदिएको बताए। उनले स्थलगत निरीक्षण पछि दुवै देशका सरोकार निकायलाई जानकारी गराइएको बताए।

‘केन्द्रस्तरबाटै यस विषयमा समन्वय र छलफल हुनु जरुरी हुन्छ’, उनले भने,‘ भारतीय पक्षले कुनै काम गर्दा नेपाल पक्षलाई जानकारी दिने गरेको छैन।’ बिहारका ५ जिल्ला जोगाउन परियोजनाका भारतीय अधिकारीले प्राकृतिक बहावलाई परिवर्तन गर्न लागेका हुन्। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस