aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुलमान ज्यू खत्रीलाई न्याय दिने कि ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
कुलमान ज्यू खत्रीलाई न्याय दिने कि ?

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका ७ लामोसाँधुनिवासी नारायण खत्रीको शरीर करेन्टले डढेको छ । घाइते शरीर लिएर उनी जागिर बचाउन माग गर्दै विद्युत प्राधिकरणका विभिन्न निकायमा धाइरहेका छन् । तर, पाँच वर्ष बितिसक्दासमेत उनले न्याय पाउन सकेका छैनन् । 

खत्रीले १० जेठ २०६१ मा लामोसाँधुस्थित सुनकोशी विद्युत वितरण केन्द्रबाट करार जागिरको नियुक्ति पाएका थिए । फिल्डमा गएर दिनहुँ कडा मिहेनत गर्ने खत्रीलाई कार्यालयको काम गर्दागर्दै २४ असोज ०७१ मा करेन्ट लाग्यो । शरीर पूरै डढ्यो । तर, उनी बाँच्न सफल भए ।

करेन्टले ढाड, तिघ्रा, करङ, हात र पेट डढ्यो । सख्त घाइते खत्रीलाई दुई महिना काठमाडौं राखेर उपचार गरिएको थियो । उपचारपछि घर फर्किए । डढेको शरीर लिएर कार्यालय पुगे । तर, हाकिमले आराम गरेर घरमै बस्न भने ।

परिवारका पाँचजना पाल्नुपर्ने दायित्व उनको काँधमा थियो । केही दिनपछि उनी फेरि कार्यालय पुगे । तर, हाकिमले उनी दुर्घटनामा परेको दिनदेखि नै तलब खानेगरी अर्को व्यक्तिलाई नियुक्ति दिइसकेको रहेछन् । 

मलाई कुनै क्षतिपूर्ति दिइएन् । सामान्य जानकारीसमेत नगराई जागिरबाट निकालियो, दुःखित हुँदै उनले भने, 'अन्यायमा परेपछि प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म पुँगे । तर, कसैले ममाथि न्याय गरेनन् ।' 

घाइते शरीर लिएर न्याय माग्न चारपटक केन्द्रीय कार्यालय पुगेको उनले बताए । उनी दुर्घटनामा पर्दा परदेश चौधरी वितरण केन्द्र प्रमुख थिए । चौधरीसँग खत्रीले अनुनयविनय गरे तर जागिर जोडिएन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।  


 


 

प्रतिक्रिया दिनुहोस