aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्रै हुने विश्व बैंकको प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत कायम हुने अनुमान विश्व बैंकले गरेको छ । सरकारले  ७ प्रतिशत वृद्धिदर हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने एक प्रतिशतभन्दा तल आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले  दोहोर्याएर नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने भनेको हो । कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्ने क्रममा लकडाउन लागू परेपछि मुलुकको समग्र अर्थतन्त्र, उद्योग व्यवसायमा नराम्रो असर परेकाका न्यून आर्थिक वृद्धिदर हुने देखिएको छ । 

कोरोना भाइरस महामारीबीच विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट २०२१ मा नेपालको आर्थिक वृद्धिदर गएको आर्थिक वर्ष (२०७६/७७) मा ०.२ रहेको र चालु आर्थिक बर्षमा केही सुधार आउने अनुमान गरेको छ । विश्व बैंकको संशोधित प्रक्षेपणमा नेपाल सरकारले दाबी गरेजस्तो आर्थिक नहुने भन्दै ऋणात्मक अवस्थामा भने नजाने भनिएको छ । विश्व बैंकका अनुसार यस बर्ष दक्षिण एसियामा कोरोनाको सबैभन्दा धेरै प्रभाव भारतमा पर्ने अनुमान गरेको छ । 

समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धि ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको विश्व बैंकले भारत र बंगलादेशको आर्थिक वृद्धिदर भने  नकारात्म रहने प्रक्षेपण पनि गरेको छ । कोरोना कहरकै बीच पनि दक्षिण एसियाकै माल्दिभ्सको आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । यस वर्ष भारतको ९.६ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको छ । त्यस्तै, बंगलादेशको वृद्धिदर ०.७ प्रतिशतले नकारात्मक रहने अनुमान छ । बाँकी देशको भने सकारात्मक रहने अनुमान छ । 

छिमेकी अर्थतन्त्र चीनमा यो वर्ष पनि आर्थिक वृद्धिदर सकारात्मक रहने प्रक्षेपण छ । विश्वको पहिलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनमा सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । 

त्यसैगरी, विश्व बैंकले सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरेको छ । गएको बर्ष ४.३ प्रतिशतले खुम्चिएको विश्व अर्थतन्त्रमा यो वर्ष सुधार आउने आशा गरिएको हो । विश्वकै ठूलो मानिएको अमेरिकी अर्थतन्त्रमा गएको वर्ष ५.४ प्रतिशतले संकुचन आएकोमा यो बर्ष ३.३ प्रतिशतले सुधार आउने आशा गरिएको छ । गएको वर्ष ३.६ प्रतिशतले खुम्चिएको युरोपेली अर्थतन्त्र यो वर्ष ३.५ प्रतिशतले सुधार आउने अनुमान छ ।


 

प्रतिक्रिया दिनुहोस