aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा बर्ड फ्लू देखिएपछि हजारौँ पन्छी मारिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
भारतमा बर्ड फ्लू देखिएपछि हजारौँ पन्छी मारिँदै

एजेन्सी । भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए।

बीबीसीका अनुसार भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। सङ्घीय सरकारले उच्च सतर्कता जारी गर्दै फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ। मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ।

कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ। त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ।

मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्। त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए।

हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भए नभएको पुष्टि भएको छैन। उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस