काठमाडौं । धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिनमा झार्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति प्रदान गरेको हो ।
सिडिएससीले हाल कायम तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने व्यवस्था हुने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ संशोधनको स्वीकृति मागेको थियो । बोर्डले उक्त संशोधित विनियमावलीलाई स्वीकृति प्रदान गर्दै कार्यान्वयनको जिम्वेवारी सिडिएससीलाई सुम्पेको हो ।
टि प्लस टु राफसाफ तथा पछ्यौट चक्र कार्यान्वयनसँगै धितोपत्रको तरलता बृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ । बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौंट प्रणालीलाई २ दिनेमा झार्ने योजना बनाएको थियो । हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्था बमोजिम शेयर विक्री कर्ताले आफुले विक्री गरेको शेयर बराबरको रकम तीनदिनभित्र पाइसक्नुपर्नेछ भने खरिद कर्ताको शेयर खातामा पनि तीनदिनभित्रै शेयर जम्मा भैसक्नुपर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भैसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस