aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पालिकाहरूलाई बजेट खर्च गर्न अर्थमन्त्री पौडेलको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
पालिकाहरूलाई बजेट खर्च गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णप्रसाद पौडेलले स्थानीय तहहरुले खर्च गर्न नसकेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिमण्डलसँग भेट गरी स्थानीय तहमा पुगेको १ सय २६ अर्ब रुपैयाँ खर्च हुन बाँकी रहेको बताएका हुन् । बैठकमा उनले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका हुन् । 

अर्थमन्त्री पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरे । प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादमूलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । 

अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठसहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल पनि छ ।  

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराए ।  

अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने बताए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सक्रियता जरुरी रहेको बताए ।  
नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्न जरुरी रहेको बताए ।  

 अर्थ मन्त्रालयमा आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठलाई स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरिएको छ  ।  
   

प्रतिक्रिया दिनुहोस