aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

आन्तरिक राजस्व विभागमा महानिर्देशक खाली, अर्थमन्त्रीको रोजाइमा पौडेल कि दंगाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
आन्तरिक राजस्व विभागमा महानिर्देशक खाली, अर्थमन्त्रीको रोजाइमा पौडेल कि दंगाल

काठमाडौं । अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमा महानिर्देशकको पद खाली भएको छ । महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएसँगै विभागमा नयाँ महानिर्देशकको चर्चा सुरु भएको हो । कुँवरलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएकोे छ । त्यहाँका कार्यरत सहसचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय तानिएको छ । 

विभागमा ५ जना सहसचिव रहने भएकाले नेतृत्वका लागि वरिष्ठ सहसचिवमध्ये सहसचिवलाई पठाउने तयारीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् । अर्थ मन्त्रालयले विभागको नेतृत्वका लागि सहसचिव चन्द्रकला पौडेल, रामेश्वर दंगाल, दीर्घराज मैनाली, धनीराम शर्मा र झक्कप्रसाद आचार्यमध्ये एकलाई अघि सार्ने तयारी मन्त्री पौडेलले गरेका छन् । वरिष्ठताको हिसावले पौडल र दंगालमध्ये एक जनालाई विभाग महानिर्देश बनाउने तयारीमा अर्थ मन्त्रालय लागेको छ । 

यीमध्ये विभागको महानिर्देशकको बलियो दावेदार हुन् सहसचिव पौडेल । राजस्वकै क्याडर मानिने उनले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक तथा निमित्त महानिर्देशक भइसकेकी छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख रहेर कार्य सम्पादन गरिसकेकी उनी अहिले आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशमा कार्यरत छिन् । यदि अर्थमन्त्री पौडेलले पौडेललाई महानिर्देशक बनाएमा राजस्व उठाएर देश सञ्चालनमा बढी योगदान गर्ने विभागको पहिलो महिला महानिर्देशक हुनेछिन् । 

भन्सार विभागको महानिर्देशक बनिसकेका दंगालले अहिले अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा सम्हालिरहेका छन् । दंगाल आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशबाट अर्थ मन्त्रालय आएका हुन् । वरियताको हिसावले उनी सचिव बन्ने लाइनमा पुगेका छन् । 

धनीराम शर्मा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुन् । वरियताको हिसावले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली वरिष्ठ भएपनि उनले त्यहि नै प्रभावकारी काम गरिरहेका र हाल विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत रहेकोले शर्माको नाम चर्चामा आएको हो । 

देशलाई आपत पर्दा खर्च जुटाउन लागि परेका शर्मालाई बजेट महाशाखा नै ठिक हुने हो कि भन्ने सोचमा अर्थ मन्त्रालय पुगेको छ । अर्का सहसचिव झक्कप्रसाद आचार्यको नाम पनि चर्चामा आउन थालेको छ ।


 

प्रतिक्रिया दिनुहोस