
गत ५ वैशाखमा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपराह्न ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।
जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट ५ वैशाख राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।
अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटसँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।
स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभास मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको छ । स्याटेलाइटमा नेपालको झन्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरूको नाम पनि छ ।
यो १ किलो ३ सय ग्राम तौलको छ । यसमा सरकारले १ करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्बिरसहितका डाटाहरू पठाउन थाल्नेछ । यसले मौसमी सूचना पनि दिन सक्छ ।
स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन–अनुसन्धान थाल्न सक्ने दाबी सरकारी अधिकारीहरूको छ । स्पेस इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेसबारे जानकारी लिने अवसर मिल्नेछ ।
यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस