aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हुरीपीडितको नाम सुचीबाटै गायब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
हुरीपीडितको नाम सुचीबाटै गायब

गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ ।

सेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको छ ।

२१ वैशाखमा केन्द्र सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसहित ११ मन्त्री र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्दा एक हजार चार सय दुई घर नै निर्माण गरिने सूचीमा थिए । अहिले आठ सय ४६ घर मात्रै समेटिएपछि पीडितहरू जनप्रतिनिधिविरुद्ध आन्दोलित भएको समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

‘गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वास्तविक पीडितलाई घर पूर्ण क्षति भएको सूचीबाट हटाएर निकटस्थहरूलाई मात्रै समेटेका छन् । फरक राजनीतिक आस्था राख्नेलाई छानीछानी अन्याय गरिएको छ,’ पीडित रम्भा देवीको आरोप छ ।

भरवलियामा आफूलगायत सय घरपरिवार अझै भत्केको घर र त्रिपालमुनि दिनरात काटिरहेको रिना देवीले बताइन् । ‘हावाहुरीले घरविहीन बनाएको छ, हामी त्रिपालमुनि छौँ, तर जनप्रतिनिधि नै हाम्रो पीडामाथि खेल्दै छन्,’ उनले भनिन् ।

पीडित परिवारका महिला जम्मा भएर सोमबार गाउँपालिका कार्र्यालय तालाबन्दी गर्न पुगेका थिए । सो क्रममा गाउँपालिका अध्यक्ष अमिरीलाल पक्षधर समूहले अवरोध गर्दा झडप नै भयो । प्रहरीले हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस