aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुठी विद्येयकको विरोध गर्दा पाइलट विजय लामालाई जापान जान रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
गुठी विद्येयकको विरोध गर्दा पाइलट विजय लामालाई जापान जान रोक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो । 

निगमका एक उच्च अधिकारीका अनुसार, तीनै जनाको होटल बुकिङ र टिकट पनि भइसकेको थियो। कार्यक्रम एक साता लामो थियो। तर, पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विधेयक विरुद्ध स्ट्याटस लेखेपछि उनलाई टोलीबाट हटाइएको निगमको उच्च स्रोतले बतायो।

लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै लेखेको छन्, ‘दुई तिहाईको सरकार हो भनेर जनतालाई पेलेर जान्छौं अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइनरु’ सरकार स्वामित्वको ध्वजाबहाक वायुसेवा कम्पनीमा कार्यरत उनले आगाडि लेखेका छन्, ‘त्यस्तो चाँही नहोस् पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वरमा विरोध गर्छन् त्यतीबेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई।’

शनिबार ३ बजे उक्त स्ट्याटस पोष्ट गरिएको थियो। निगमका केही उच्च अधिकारीहरुले कार्यकारी अध्यक्षलाई सरकारी कार्यालयमा काम गर्नेले सरकारकै विरोध गरेको सुहाएन भनेर गुनासो गरेपछि आइतबार बिहान कार्यकारी अध्यक्ष खरेलले उनलाई बोलाई भम्रण दलबाट हटाएको जनाकारी दिएको स्रोतले बतायो। ‘तपाईंको स्ट्याटसले मलाई अप्ठ्यारो पर्छ नजानुहोस् भन्नुभयो,’ पाइलट लामाको भनाई उद्धृत गर्दै एक अर्का निर्देशकले भने, ‘उहाँले भनेपछि मैले हुन्छ भने।’

यसैबीच लामाले हङकङमा भइरहेको प्रदर्शनको समाचार सामग्री शेयर गर्दै मण्डलामा बुधबार हुने सरकार विरुद्धको प्रर्दशनमा आफू जान लागेको र अन्यलाई पनि आव्हान गरेका छन्। पर्यटन सचिव मोहनकृष्ण सापकोटाले सरकार विरद्ध फेसबुकमा लेख्न नमिल्ने बताउँदै आचारसंहिता लागु हुने बताए।

‘नेपाल सरकारको संस्थाका कर्मचारीले सरकार विरुद्ध लेख्न मिल्दैन। आचारसंहित लागु हुन्छ। यसबारे कारवाही गर्ने कानुन रहेको र कारवाहीको अधिकार तोकिएकै छ,’ पर्यटन सचिव सापकोटाले भने।

लामा बारम्बार आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिन्छन्। यसअघि बैशाखमा हवाई सुरक्षालाई असर पर्नेगरी अभिव्यक्ति दिएपछि विवादमा तानिएका पाइलट लामालाई नेपाल वायुसेवा निगमले प्रवक्ताको जिम्मेबारीबाट हटाएको थियो। नागरिक उड्डयन प्राधिकरणले लामालाई ग्राउन्डेड गर्ने निर्णय गरेपछि निगमका कार्यकारी अध्यक्ष खरेलले लामालाई प्रवक्ताबाट हटाएका थिए।

चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमार्फत ‘आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको’ अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फलाइट सेफ्टी स्ट्याण्डर्ड विभागले स्पष्टीकरण पनि सोधेको थियो।

त्यसअघि प्रधानमन्त्री ओलीले हिमालय एयरलायन्सको जहाज चार्टर गरेको विषयमा पनि लामाले सरकार विरुद्ध स्ट्याटस लेख्दा विवादमा तानिएका थिए। त्यसताका निगमका प्रमुख सुगतरत्न कशांकारले लामालाई सम्झाई बुझाई बचाउ गरेको निगमका एक अधिकारीले बताए।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार, जापान गएको टोलीले भदौ देखी तोकिएको उडानबारे जापान सिभिल एभिएसन ब्यूरो, ग्राउन्डह्याण्डिङ्ग, मेन्टीनेन्स लगायतका सेवा प्रवाह गर्ने निकायसँग छलफल गर्ने कार्यतालिका रहेको छ। यो टोली आइतबार नेपाल फर्किने छ। आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस