
काठमाडौं । पछिल्ला महिनामा क्रेडिट रेटिङ कम्पनीले मनोमानी रुपमा रेटिङ दिने गरेको रहस्य खुलेको छ । व्यवसाय बढाउने तथा बजारमा प्रभुत्व जमाउने ध्ययले रेटिङ कम्पनीले ग्राहक (क्लाइन्ट) ले चाहेअनुसार रेटिङ दिने प्रवृति बढ्दै गएको जानकारहरु बताउँछन् ।
केही महिनाअघि एक जलविद्युत कम्पनीले सेयर निष्कासनका लागि एउटा रेटिङ कम्पनीसँग सम्झौता गर्यो । सम्झौताअनुसार रेटिङ कम्पनीले मूल्यांकन (अध्ययन) गरी रेटिङ परिणाम दियो । त्यो परिणाम उक्त कम्पनीलाई चित्त बुझेन । उसको रेटिङ ५ ग्रेड थियो । रेटिङ पाँच भएको कम्पनीले सेयर निष्कासन गर्न पाउँदैनन् । त्यसको केही महिनापछि त्यो कम्पनी अर्को रेटिङ कम्पनीमा गयो । त्यसकै आधारमा बजारमा सेयर निष्कासन गर्यो ।
केही बिमा कम्पनी, लघुवित्त र जलविद्युत कम्पनीले पनि एउटा कम्पनीबाट रेटिङ चित्त नबुझेपछि अर्को निष्कासन गरिरहेका छन् । विधि र प्रक्रियाबारेमा प्रभावकारी रुपमा नियमन तथा सुपरिवेक्षण हुन नसक्दा यस्तो अवस्था आएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको भनाई छ ।
बजारमा रेटिङ सपिङको प्रचलन बढेको सुन्नमा आएको बोर्डका प्रवक्ता नीरज गिरीले स्वीकार गरे । 'यसबारेमा बोर्डमा गुनासो आएको छ,' उनले भने, 'वास्तविकता के रहेछ भनेर अध्ययन गरिरहेका छौं ।' गुनासो बढ्दै गएकाले रेटिङ मापदण्डमा एक रुपमा ल्याउन रेटिङ निर्देशिका परिमार्जन गर्न लागिएको गिरीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस