
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म जम्मा साढे १४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षको यो अवधिमा सरकारले गरेको कुल खर्चमध्ये पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च गरेको हो ।
चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेपनि आर्थिक वर्षको आधा समय सकिँदासम्म पुँजीखर्च खर्चको अवस्था अत्यन्त न्यून देखिएको हो । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा १४.४० प्रतिशत पुँजीगत खर्च भएको छ ।
सरकारले पहिलो ६ महिना (साउनदेखि पुसमसान्तसम्म) मा कुल चार खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये चालु खर्चको लागि ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट विनियोजन भएको हो ।
सरकारले बजेटमार्फत एक खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फको खर्चमा बजेट विनियोजन गरेको हो । समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ जम्मा १३ प्रतिशत (२२ अर्ब ७५ करोड) खर्च भएको छ । वित्तीय व्यवस्थाअन्तर्गत सरकारले सार्वजनिक संस्थानमा सेयर र ऋण लगानी गर्ने गरेको छ ।
६ महिनामा सररकारले ४ खर्ब ५५ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यको करिब २० अर्बले कम हो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुससम्म ४ खर्ब ७५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । सरकारले साउनदेखि पुससम्मको यो अवधिमा ३ खर्ब ८६ अर्ब कर राजस्व र ३५ अर्ब ७० करोड गैर कर राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस