aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ठूला करदाता कार्यालयले लक्ष्य पुर्याउन नसक्दा ९१ अर्ब ३० करोडमात्रै उठ्यो राजस्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
ठूला करदाता कार्यालयले लक्ष्य पुर्याउन नसक्दा ९१ अर्ब ३० करोडमात्रै उठ्यो राजस्व

काठमाडौं । आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्व विभागले लक्षित राजस्व उठाउन सकेन । विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म दुई खर्ब ५ अर्ब ४४ करोड राजस्व उठाउने संकलन गर्ने लक्ष्य लिएको थियो । तर, सो अवधिमा एक खर्ब ९१ अर्ब ३० करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । लक्ष्य तुलनामा विभागले संकलन गरेको राजस्व ६.९३ प्रतिशतले कम हो ।  

गत आर्थिक वर्षको यो अवधिमा विभागले दुई खर्ब ५ अर्ब ५१ करोड राजस्व संकलन गरेको थियो । गत वर्षपनि राजस्व असुलीले लक्ष्य भेट्न सकेको थिएन । गत वर्ष अर्थ मन्त्रालयले विभागलाई दुई खर्ब ५० अर्ब ९७ करोड राजस्वको लक्ष्य दिएको थियो । 

 विभागअन्तर्गतका साना आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसार नै राजस्व उठाए पनि ठूला करदाता कार्यालयले लक्ष्यको तुलनामा राजस्व कम संकलन गर्दा कुल राजस्वमै यसको असर परेको हो । कुल राजस्वमा ठूला करदाता कार्यालयको हिस्सा करिब ८० प्रतिशतको हाराहारीमा रहेको छ । 
कार्यालयले लक्ष्यको तुलनामा असुली गर्न नसक्दा यसको असर राजस्व असुलीमा देखिएको आन्तरिक राजस्व विभागका सूचना अधिकृत अर्जुन ढकालले जानकारी दिए । ‘ठूला कर्पोरेट हाउस तथा बैंकहरूको नाफा घटेको करण राजस्वमा यसको प्रभाव देखिएको हो,’ उनले भने ‘ ठूला करदाता कार्यालयले पुससम्म ५६ अर्ब ४२ करोड राजस्व उठाउनु पर्नेमा जम्मा ४१ अर्ब ९५ करोडमात्रै राजस्व संकलन गरेको छ ।’ 

चालु आर्थिक वर्षको यो अवधिसम्म मूल्य अभिवृद्धि कर(भ्याटं मा असर नदेखिएपनि अन्तशुल्क र आयकरमा असर प्रत्यक्ष देखिएको उनले बताए । होटल रेष्टुराँहरू बन्द हुँदा वा पूर्ण क्षमतामा चल्न नसक्दा अन्तःशुल्क पनि घटेको उनले सुझाए ।  ‘अन्य करको तुलनामा भ्याट तुलनात्मक रुपमा राम्रो असुली भएको छ,’ उनले थपे ‘अन्य कर भने लक्ष्यको तुलनामा कम उठेको छ ।’ 

शीर्षगत रुपमा विभागले चालु आवको पहिलो ६ महिनामा मूल्य अभिवृद्धिकर भयाटको असुली भने राम्रो देखिएको छ । विभागले समीक्षा अवधिमा जम्मा ५१ अर्ब ३१ करोड ७५ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ६.५७ प्रतिशतले बढी असुली भएर ५४ अर्ब ७६ करोड ६१ लाख राजस्व असुली भएको छ । 

आयकरतर्फ ८२ अर्ब ८९ करोड ४८ लाख राजस्व असुली गरेको छ । जुन राजस्व लक्ष्यको तुलनामा ८८.८७ प्रतिशतमात्र हो । आयकर शीर्षकमा पुससम्म ९३ अर्ब ६९ करोड ३१ लाख राजस्व असुली गर्ने  लक्ष्य तय भएको थियो । यो अवधिमा आयकरमात्रै करिब १० अर्बभन्दा बढीले घटेको छ । 
अन्तशुल्कतर्फ पुससम्म ४४ अर्ब ५० करोड ९१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  लक्ष्यको तुलनामा ८४.५४ प्रतिशत अर्थात ३७ अर्ब ७५ करोड ९४ लाखमात्र राजस्व संकलन भएको छ । अन्तशुल्क लाग्ने वस्तुको व्यापार कम हुँदा यसको असर राजस्वमा देखिएको हो ।  

विभागले चालु आवको पहिलो ६ महिनामा ब्याजकरबाट ११ अर्ब ५३ करोड ५२ लाख असुल गर्ने लक्ष्य लिएपनि लक्ष्यको तुलनामा बढी असुल गरिएको छ । यो अवधिमा ब्याजकरबाट ११ अर्ब ८५ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

पुस महिनामामात्रै कति उठ्यो राजस्व 

पुस महिनामामात्र विभागले ७२ अर्ब एक करोड ३५ लाख राजस्व असुली गर्ने लक्ष्य लिएकोमा जम्मा ६१ अर्ब ५७ करोड ४ लाखमात्र राजस्व संकलन गरेको छ । विभागले गत आवको पुसमा ८१ अर्ब १७ करोड राजस्व असुली गर्ने लक्ष्य लिएकोमा ७५ अर्ब २ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । 

भागले सो अवधिमा आयकरतर्फ ५४ अर्ब ४६ करोड २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४३ अर्ब २६ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भ्याट असुली भने पुस महिनामा पनि राम्रो देखिएको छ । पुस महिनामा भ्याटबाट ८ अर्ब ४८ करोड२७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएपनि ९ अर्ब६७ करोड ३३ लाख राजस्व संकलन भएको छ । 

त्यस्तै अन्तशुल्कमा ७ अर्ब २० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । संकलिन राजस्व लक्ष्यको तुलनामा एक अर्ब ६१ करोडले कम हो । यो अवधिमा सो शीर्षकमा ६ अर्ब ८१ करोड राजस्व संकलन भएको छ ।  विभागले पुस महिनामा ७८ करोड ५३ लाख ब्याजकर असुल गर्ने लक्ष्य लिएकोमा ९८ करोड २८ लाख ब्याजकर असुल गरेको छ ।  

प्रतिक्रिया दिनुहोस