aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कोभिड

५८ प्रकारका उद्योगलाई विद्युत डिमाण्ड शुल्कमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
५८ प्रकारका उद्योगलाई विद्युत डिमाण्ड शुल्कमा छुट

काठमाडौं । सरकारले आज सोमबारदेखि कोभिड–१९ प्रभावित उदोगहरूलाई विद्युत डिमाण्ड शुल्कमा छुट दिने भएको छ । कोभिड प्रभावित उत्पादनमूलक उद्योगहरुलाई लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयलाई आजदेखि कार्यान्वयन लैजान लागकोे हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले आजदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

उद्यमी व्यवसायीहरूले कोभिडका बेलामा बन्द रहेका उद्योग व्यवसायीले प्रयोग गरेको विद्युतमा छुट दिनुपर्ने माग राखेका थिए । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ । 
आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरु लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस