aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य थप विस्तार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ०६ माघ २०७७
काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य थप विस्तार

काठमाडौं । काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।

प्राधिकरणले काठमाडौंको विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित सुरु गरेको विद्युत्को तार भूमिगत गर्ने कार्य धमाधम भइरहेको छ । प्राधिकरणले पूर्व–उत्तर, मध्य–पश्चिम र पश्चिम क्षेत्र गरी तीन चरण र क्षेत्र विभाजन गरी काठमाडौँमा बिजुलीको तारलाई अहिले भूमिगत गर्ने काम गरिरहेको छ । यी तीन चरणमध्ये पूर्व–उत्तर, मध्य–पश्चिम क्षेत्रमा भूमिगत गर्ने कार्य सुरु भइसकेको छ भने पश्चिम क्षेत्रका लागि अहिले सम्झौता भएको प्रवक्ता तिम्सिनाले बताए ।

पूर्व–उत्तर क्षेत्र चरणअन्तर्गत अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर क्षेत्रमा अहिले विद्युत्को तार भूमिगत गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसैगरी मध्य–पश्चिम चरणअन्तर्गत लैनचौरदेखि बूढानीलकण्ठसम्म काम भइरहेको छ । यस चरणको ठेक्का भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले पाएको छ ।

अहिले रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्ने कार्य भइरहेको छ । यस वितरण केन्द्रका तारलाई भूमिगत गर्न प्राधिकरण र भारतको केईआई इन्डस्ट्रिजबीच २०७५ चैत ११ गते ठेक्कापट्टा सम्झौता सम्पन्न भई २०७६ वैशाख १२ गतेदेखि ठेक्का सम्झौता लागू भएको थियो । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्न पहिलो पटक २०७४ साउन २ गते बोलपत्र आह्वान गरिएकोमा उच्च मूल्यसहितको बोलपत्र दर्ता भएकाले सो बोलपत्रलाई रद्द गरी २०७५ कात्तिक ८ गते पुनः बोलपत्र आह्वान गरिएको थियो ।

तारलाई भूमिगत गर्न खानेपानीको पाइप पुर्ने जस्ता बाटो खन्न नपर्ने र होरिजेन्टल डिरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर तार भूमिगत गर्नुपर्ने भनिए पनि अहिले तार भूमिगत गर्न सडक खन्नुपरेको छ ।

तार भूमिगत आयोजनाका इन्जिनियर अभिषेक अधिकारीले ठूलो क्षमताको केबल भूमिगत गर्नुपरेका कारण सडक खन्नुपर्ने बताए । उनले भने, ‘‘लैनचौरदेखि चपलीसम्म ६६ केजीको छवटा ट्रान्समिसन केबल भूमिगत गरिएको छ, जुन एचडीडी प्रविधिबाट सम्भव थिएन ।’’

त्यसैगरी एकै ठाउँमा तलमाथि खानेपानी, ढलको पाइप बिछ्याइएकाले एचडीडी प्रविधिबाट ड्रिलिङ गर्दा ती पाइप फुट्ने भएकाले सडक खन्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले प्रस्ट पार्नुभयो । एकै ठाउँमा तलमाथि पाँचवटासमेत पाइप बिछ्याइएको पाइएको उनले बताए ।

एचडीडी प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइन्छ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका तार छिराइने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस