काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका छैनन् ।
सरकारले ७२ प्रतिशत भुक्तानी भइसकेको दाबी गरेको छ तर किसानले भने सम्झौताअनुसार रकम भुक्तानी नभएको भन्दै उखु किसानले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
बक्यौता रकम माग गर्दै उखु किसानले आन्दोलन गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १३ गते चार बुँदे सम्झौता भएको थियो ।
सम्झौतापत्रको बुँदा नं. १ मा उखुु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र थुुनुुवा पुर्जी जारी गर्नेलगायतका कारबाही प्रक्रिया सुरु भइसकेको जनाइएको छ । तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी थप कानुुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने सम्झौतामा उल्लेख गरिएको छ ।
गृह मन्त्रालयका अनुसार किसानले पाउनुुपर्ने बक्यौता रकममध्ये ७० करोड ५८ लाख रुपियाँमध्ये हालसम्म ५१ करोड ३८ लाख रुपियाँ भुक्तानी भइसकेको छ । मन्त्रालयका सूचना अधिकारी प्रेम लामिछानेले किसानले पाउने रकममध्ये ७२ प्रतिशत रकम प्राप्त गरिसकेको जानकारी दिए । कति किसान र कुनकुन किसानले रकम पाए, पाएनन् त्यसको तथ्याङ्क मन्त्रालयलाई प्राप्त नभएको भन्दै पनि कुन उद्योगीले कतिकति रकम बुुझाए त्यसको तथ्याङ्क मात्र जिल्ला प्रशासन कार्यालयमार्फत आएको उनले बताए ।
गृह मन्त्रालयका अनुसार श्रीराम सुुगर मिलले ४० करोड ४६ लाखमध्ये ३५ करोड ७५ लाख, अन्नपूर्ण सुुगर मिलले १७ करोडमध्ये ११ करोड २७ लाख, लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाखमध्ये चार लाख १६ लाख र इन्दिरा सुगर मिलले चार करोड ७० लाखमध्ये एक करोड ५० लाख रुपियाँ भुुक्तानी गरेका छन् ।
रकम भुक्तानी नगर्ने किसानलाई कानुनी कारबाही गर्ने निर्णय यसअघि नै भइसकेको बताउँदै उनले उद्योगीलाई पक्राउ गर्न पुर्जी पनि काटिसकेको र उनीहरूलाई खोजी गर्ने कार्य भइरहेकोसमेत बताए । उनले भुक्तानी गर्न नसकेका उद्योगी फरार रहेकोसमेत जानकारी दिए ।
यता उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले उद्योगीहरूले किसानलाई कति भुक्तानी गरेको जानकारी नआएको बताउनुुभयो । उद्योगी र सरकारले किसानलाई बक्यौता रकम भुक्तानी भएको भनिरहेको भए पनि हालसम्म किसानलाई प्राप्त नभएको उनले दाबी गरे । उनले भने, “कुन किसानले कतिकति रकम पाए त्यसको जानकारी उद्योगी वा सरकारले दिनुपर्ने हो । त्यसको जानकारी उद्योगमा टाँस गर्नुपर्ने हो तर हालसम्म त्यसको कुनै जानकारी आएको छैन । ”
उद्योगीले हालसम्म ४३ करोड रुपियाँ भुक्तानी गरिसकेको र भुक्तानी गर्ने बाँकी रकम पनि आफूहरूको नियन्त्रणमा रहेको जानकारी उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले गराएको संरक्षक मिश्रले बताए । उद्योग मन्त्रालयले मङ्गलबार त्यसको जानकारी दिने भनेको र उक्त जानकारी आएपछि मात्र किसानले रकम पाएको नपाएको सुनिश्चित हुने उनले बताए ।
“उद्योग मन्त्रालयले भुक्तानी गर्नुपर्ने रकम आफ्नो नियन्त्रणमा रहेको भनेको छ तर त्यो कसरी त्यसको विश्लेषण गरेको छैन । मन्त्रालयको खातामा रकम आएको छ कि उद्योगीको खाता रोक्का गरिएको छ, कसरी नियन्त्रणमा लिएको त्यसको जानकारी उद्योग मन्त्रालयले दिएको छैन,” उनले बताए ।
मङ्गलबार उखु किसानको बैठक बस्ने र सो बैठकबाट कुन किसानले कति रकम पाएको नपाएको स्पष्ट हुने बताइएको छ । सम्पूर्ण रकम भुक्तानी नभए आफूहरूले आन्दोलनको घोषणा गर्नेसमेत उहाँले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस