
हालसालै नेपालमा औषधि व्यवस्था विभागले Astrazeneca फार्मास्युटिकल्स र Oxford युनिभर्सिटीले सहकार्य गरेर निकालेको Covishield नामक खोप ल्याउने बाटो खुल्ला गरेको छ। त्यो निर्णयसँगै Covishield खोप नेपाल भित्रने सम्भावना धेरै बढेको छ।अनि फेरी यो खोप भर्खरै भारतको Serum Institute of India ले पनि बजारमा ल्याएको छ। आउनुहोस् नेपालमा तपाईँ हामीले प्रयोग गर्ने सम्भवत कोरोनाको पहिलो खोप Covishield का बारेमा केही जानकारी लिउ।
Covishield खाेप के हो र यसले कसरी काम गर्छ ?
यो खोप सामान्य रुघा खोकीका कारक adenovirus प्रयोग गरी बनाइएको हो। सो भाईरसलाई कोरोना भाईरस जस्तो देखिने गरी परिवर्तन गरिएको छ ताकि त्यो खोपले हामीलाई कोरोना भाईरसबाट बचाउन सकोस् तर कोरोना नै चाहिँ नलागोस्। सबै खोप जस्तै यो खोप लगाएपछि पनि मानिसको प्रतिरक्षा प्रणालीले कोरोना भाईरसका विरुद्धमा एन्टिबडी बनाउन थाल्छ र त्यो एन्टिबडीले कोरोना भाईरसलाई निर्मुलिकरण गर्दछ।
Covishield किन नेपालका लागि बढी उपयुक्त हो त ?
यो खोप Pfizer र Moderna को खोप जस्तो माइनस ७० डिग्री सेल्सियसमा राख्न नपर्ने र नर्मल फ्रिज २-८ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले पनि हाम्रो जस्तो मुलुकमा भण्डारण तथा वितरण गर्न सजिलो हुने देखिन्छ।
Covishield खोप कहिले स्वीकृत भएको हो ?
यो खोप बेलायतको MHRA(Medicines and Healthcare products Regulatory Agency) ले ३०डिसेम्बर २०२० मा स्वीकृत गरेको हो। त्यसको ५ दिन पछि ४ जनवरीबाट बेलायतमा यो खोप दिन थालिएको हो। भारतमा पनि १६ जनवरीबाट यो खोप दिन थालिएको छ।
Covishield कति प्रभावकारी छ त?
सर्वप्रथम त यो खोप सुरक्षित भएको पाइएको छ, र यसले ५५ वर्षका मानिसहरूमा पनि राम्रो immune response पैदा गरेको भेटिएको छ। यो खोपको दुई डोज ६२% प्रभावकारी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
Pfizer को खोप भन्दा Covishield को प्रभावकारिता कम हो त ?
Pfizer को खोपकाे प्रभावकारिता ९५% भनिरहँदा यसको प्रभावकारिता कम भएको देखिन आउँछ। तर दुई अनुसन्धान फरक किसिमले गरिएको हुँदा प्रभावकारितामा फरक परेको हुन सक्ने वैज्ञानिकहरुको ठहर छ। Seasonal flu को खोपकाे प्रभावकारिता अहिले पनि ५०% तिर हुँदा यसको प्रभावकारिता ६२% नै देखिए पनि यो राम्रो भएको अनुसन्धानकर्ताहरू बताउनु हुन्छ।
Covishield ले कति समय सम्म काम गर्छ?
अहिले भर्खरै यो खोप बजारमा आएकाले गर्दा अहिले नै अड्कल गर्न सजिलो छैन। यसले केही वर्ष सम्म पनि काम गर्न सक्छ भने, नगरेको अवस्थामा Seasonal flu को खोप जस्तै हरेक वर्ष दिनु पर्ने पनि हुन सक्छ।
के भारतमा बनेको खोप र बेलायतमा बनेको खोप उत्तिकै भरपर्दो हुन्छ?
नेपालमा प्रयोग हुने औषधिको आधा जति हिस्सा अहिले पनि भारतको औषधिले ओगटेको छ। झन् इन्जेक्सनको हेर्ने हो भने त भारतीय औषधिले ८०-९० % नै नेपालको बजार लिने गरेको छ। त्यसैले भारतको ठुला औषधि कम्पनीले उत्पादन गर्ने औषधिको स्तर राम्रो छ। अहिले संसारभरि विभिन्न खोप बनी रहँदा विश्व स्वास्थ्य सङ्गठनले एउटा मापदण्ड तयार पारेर सोही मापदण्ड अनुसार सबैले खोप उत्पादन गर्दै छन्। त्यसैले भारतमा बनेको खोप पनि उत्तिकै भरपर्दो हुन्छ।
Covishield का साइड इफेक्ट्स के कस्ता छन्?
कुनै पनि खोप लगाउँदा मानिसलाई अलि अलि ज्वरो आउने, सुई लगाएर ठाउँमा दुखाई महसुस हुने, जिउ दुख्ने जस्ता समस्या आउँछन्। ती समस्या यसमा पनि देखिन सक्छ। अहिले सम्मको अनुसन्धानमा वा लगाइएको व्यक्तिमा १ लाख मा १ जना जस्तोलाई भने अलि गाह्रो भएको पाइएको छ। यस्तो समस्या देखिनुलाई डाक्टरहरू स्वाभाविक नै मान्दछन्।
Covishield लगायतका खोप नेपाल आउन किन ढिलो ?
अहिले विकसित राष्ट्रहरूले आफ्ना जनतालाई खोप लगाउन होड बाजी चलेको छ। Israel मा कोरोना भाईरस विरुद्धको खोप उनीहरूले लागत भन्दा डेढ गुणा पैसा तिरेर आफ्ना जनतालाई दिएको समाचार केही दिन अगाडी प्रकाशित भएको छ।
यस्तो अवस्थामा विकासोन्मुख राष्ट्रहरूले पनि खोप सहजै पाउनु पर्छ र खोपमा सबै को पहुँच हुनु पर्छ भनेर कुरा उठ्ने गरेको छ। भारतले पनि केही हप्तामा खोप निर्यात गर्ने बताई रहेको छ। नेपालले पनि आफ्नो गृहकार्य गरेर तयार हुने हो भने अब केहि साता भित्र नेपालमा पनि खोप आउन सक्छ। आशा गरौँ नेपालमा पनि खोप चाडै नै आइपुग्ने छ। (लेखक काठमाडौँ मेडिकल कलेज (फार्माकोलोजी)का सहायक प्रोफेसर हुन्)
प्रतिक्रिया दिनुहोस