aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विदेशी मुद्राको भुक्तानीमा कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
विदेशी मुद्राको भुक्तानीमा कडाई

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै विदेशी मुद्राको भुक्तानीमा कडाइ गरेको छ । स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर एकहजार मूल्यसम्मको वस्तु र विना भुक्तानी अमेरिकी डलर पाँचसय मूल्यसम्मको मालबस्तु हुलाक पुलिन्दा वा अन्य माध्यमबाट पैठारी गर्न सकिने उल्लेख गरेको छ । 

साथै, नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत बैकिङ्ग प्रणालीबाहेक कसैले अमेरिकी डलर दुई हजारसम्मको वस्तु पैठारी गरेमा नेपाल राष्ट्र बैङ्कले सोको श्रोत अध्ययन गरी सिफारिस गरेको आधारमा शत प्रतिसत पैठारी दस्तुर लिई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारीको स्वीकृति दिन सक्नेछ ।

 सूचनामा अन्यथा उल्लेख भएकोमा बाहेक नेपाल सरकारको स्वीकृत बेगर इजाजतपत्र नलिई अथवा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको माध्यम, प्रकृया तथा कागजात वेगर कुनै पनि वस्तु सोझै निकासी पैठारी गर्न पाइने व्यबस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुर्ती आयात गर्दा १५ हजार रुपैयाँ इजाजत दस्तुर लाग्नेछ। यसअघि ५ हजार डलरसम्मको निकासी बैंकिङ प्रणालीअन्तर्गत भुक्तानी हुने गरी हुलाक पुलिन्दा वा इजाजत प्राप्त कुरियरबाट गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १० हजार डलर बनाएको छ।  विना भुक्तानी हुलाक पुलिन्दा वा इजाजत प्राप्त कुरियरबाट निकासी गर्न सकिने वस्तुको मूल्यांक पाँचसय अमेरिकी डलरबाट बढाएर एक हजार बनाइएको छ। 

प्रतिक्रिया दिनुहोस