aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

‘सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
‘सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन्’

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरुलाई थाहा छ–लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो ।’ उनले भने, ‘भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । उनले भने,‘जनताको जनजिविकाको सवालमा पनि निर्वाद रुपमा अगाडि बढाउँदै नेपाललाई एउटा समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउने अवस्था देखेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु यो सरकारलाई कमजोर बनाउनतर्फ लागे ।’

मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन  संविधानअनुरुप नै रहेको दाबी गरे । उनले भने,‘समस्या खडा भएपछि  जनताबाट अनुमोदित हुनु ठूलो कुरा हो । जनताबाट विमुख हुनु चाहीँ निरंकुशता हो । अहिले हामी निर्वाचनमा जाँदैछौं । जनताले प्रगति, समृद्धि, राष्ट्रियता र भौगोलिक अखडता, र विकास र समृद्धिको पक्षमा मतदान गर्नेछन् । निर्वाचन पछि हट्दैन् । लोकतन्त्र जनादेशबाट सुदृढ हुन्छ । सरकार निर्वाचनको लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्थापन गर्न सक्षम छ । आगामी निर्वाचन अत्यन्त पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न हुन्छ । जनताले निर्वाद रुपमा मतदान गर्छन् । निर्वाचनमा गएर फ्रेश म्याण्डेट लिनुपर्छ । निर्वाचनको तयारीको सम्पूर्ण तयारीमा खासगरी कर्मचारीको व्यवस्थापनको सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय पूर्ण तयारीका साथ लागेको छ।’ 

उनले अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गरे । उनले भने,‘जनताले जवाफ खोजिरहेका छन् । अहिले त विकास र समृद्धिको अभियान हो । अहिले राजनीतिक गतिरोध गर्नुको कुनै कारण छैन् । निर्वाचन घोषणा गरियो भनेर त्यसको विरोधमा सडकमा जानु यो भन्दा विडम्बना हो । सडकमा जाने कुरा गलत हो । उनीहरु मूल पार्टीमा फर्कनुपर्यो । हामीले कसैलाई पनि कारबाही गरेका छैनौं, जिम्मेवारी तलमाथि गरिएको होला । तर, कसैलाई हटाएको छैन् । निश्कासन अहिलेसम्म गरिएको छैन् । आँफै कोही फुटेर जान्छन् भने त्यो उनीहरुको कुरा हो । मुठभेड गर्नुपर्ने के को कारणले ?’
 

प्रतिक्रिया दिनुहोस