aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
बजेट खर्च

विकासे मन्त्रालयको खर्च न्यून, सबैभन्दा कम खानेपानीको

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
विकासे मन्त्रालयको खर्च न्यून, सबैभन्दा कम खानेपानीको

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अधिकांश विकासे मन्त्रालयहरू बजेटको ३० प्रतिशत पनि खर्च गर्न सकेका छन् । विकासे मन्त्रालय बाहेकका अन्य मन्त्रालयले ६० प्रतिशतसम्म खर्च गरेपनि विकासे मन्त्रालयले खासै प्रगति गर्न नसकेका हुन् । मन्त्रालयहरूले गरेको खर्चको ट्रेन हेर्दा चालु खर्च भएपनि पुँजीगत खर्च भने अत्यन्तै न्यून देखिएको छ । लुम्बिनी विकास कोषले बजेटको ६० प्रतिशतभन्दा बढी खर्च गरेको छ भने रक्षा ४५ प्रतिशत, परराष्ट्र मन्त्रालयले ४१.२ प्रतिशत, गृह मन्त्रालयले ३८.८ प्रतिशत खर्च गरेका छन् । कतिपय मन्त्रालयले १० प्रतिशतभन्दा कम खर्च गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जम्मा बजेटको १८.८ प्रतिशतमात्र खर्च गरेको छ । मन्त्रालयलाई चालु आर्थिक वर्षको लागि एक खर्ब ३४ अर्ब बजेट विनियोजन गरिएकोमा ३१.१ प्रतिशत चालु खर्च भएको छ भने पुँजीगत खर्च १७.८ प्रतिशतमा सीमित रहेको छ । चालु आवको पहिलो ६ महिनामा उक्त मन्त्रालयले २२ अर्ब पुँजीगत खर्च सहित २५ अर्ब २५ करोड खर्च गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । 

सहरी विकास मन्त्रालयले पनि समीक्षा अवधिमा जम्मा २५.३ प्रतिशत खर्च गरेको छ । सरकारले सहरी विकास मन्त्रालयलाई ३० अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटमध्ये पुसमसान्तसम्म जम्मा ७ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गरेको खर्चमा ६ अर्ब ११ करोड पुँजीगत खर्च हो भने एक अर्ब ४९ करोड चालु खर्च हो ।  

यो अवधिमा ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयलाई सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये मन्त्रालयले १३.९ प्रतिशत अर्थात ७ अर्ब ७७ करोड रुपैयाँमात्र खर्च गरेको छ । मन्त्रालयले गरेको खर्चमा ५ अर्ब पुँजीगत खर्च हो भने ७२ करोड चालु खर्च हो । 

खानेपानी मन्त्रालयले गत चालु आवको पहिलो ६ महिनामा जम्मा ९ प्रतिशतमात्र खर्च गरेको छ । सो खर्चमा २ अर्ब २७ करोड पुँजीगत खर्च हो । विकासे अन्य मन्त्रालयको तुलनामा खानेपानी मन्त्रालयले एकदमै कम खर्च गरेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई सरकारले ५ अर्ब रुपैयाँ ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा उक्त बजेटको. २८.३ प्रतिशत खर्च भएको छ । 

कृषि तथा पशुपन्छी मन्त्रालयले यो अवधिमा २८.७ प्रतिशत खर्च गरेको छ । सरकारले उक्त मन्त्रालयलाई २८ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले गरेको खर्च ७ अर्ब ९२ करोड चालु खर्च हो भने २९ अर्ब रुपैयाँमात्रै पुँजीगत खर्च हो । उद्योग वाणिज्य तथा आपूति मन्त्रालयले कुल बजेटको १७.६ प्रतिशतमात्रै खर्च गरेको छ । सो खर्चमध्ये ३१ करोड पुँजीगत खर्च हो भने एक अर्ब ४८ करोड चालु खर्च हो । सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयलाई १० अर्ब ५२ करोड विनियोजन गरेको छ । 

सरकारले चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ८२ करोड बजेट विनियोजन गरेको थियो । सो बजेटमध्ये पुँजीगततर्फ ५० अर्ब ७६ करोड अथाएृत १४.४ प्रतिशत खर्च भएको छ भने चालुतर्फ ३ खर्ब ४२ अर्ब रुपैयाँ खर्च भएको छ र २२ अर्ब ५७ करोड वित्तीय व्यवस्था खर्च भएको छ । 
 

प्रतिक्रिया दिनुहोस