aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भारतले दिएको कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०९ माघ २०७७
भारतले दिएको कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा। जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा  ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने।

यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ। यद्यपि, मिति यकिन भइनसकेको मन्त्रालयले जनाएको छ। पहिलो खोप सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी  छ। अनुदानमा प्राप्त खोपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिएको छ।  यस खोपलाई प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाउने तयारी रहेको विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले बताए। पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई उपलब्ध  गराइनेछ।

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिन सिफारिस गरेको छ। मन्त्रालयका प्रवक्ता  डा। गौतमका अनुसार पहिलो खोप कुन मितिमा लगाउने भनेर यकिन भइसकेको छैन। ‘दुई पटक खोप लगाउनुपर्छ। पहिलो डोज खोप लगाएको चार सातापछि दोस्रो डोज ९मात्रा० लगाउनुपर्छ’, उनले भने।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको थियो। सेरम इन्स्टिच्युट अफ इन्डियाले यो कोभिसिल्ड खोप अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको हो। यो खोप भारतमा पनि लगाउन सुरु गरिएको छ।

खोप सेवा शाखा प्रमुख डा। गौतमले कोभिसिल्ड खोप १८  वर्ष नाघेका व्यक्तिलाई मात्र लगाइने जानकारी दिए। गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका र रोग प्रतिरोधात्मक क्षमता  न्यून भएका व्यक्तिलाई खोप नदिइने मन्त्रालयले जनाएको छ।

सरकारले सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई  निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ।  खोप खरिदको लागि ४९ अर्ब लाग्ने अनुमान  गरिएको छ। अपुग खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई प्र्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रवक्ता डा। गौतमले बताए।  उनले भने,‘ दुईदेखि  आठ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोपलाई बढी प्राथमिकता दिइन्छ।’

प्रतिक्रिया दिनुहोस