aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नयाँ शैली अपनाएर विमानस्थलबाटै सुन तस्करी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
नयाँ शैली अपनाएर विमानस्थलबाटै सुन तस्करी

सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।

वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ ।

त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् ।

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पुर्याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् ।

दोहाबाट फर्कने क्रममा पनि विमानस्थलभित्र उनीहरूले त्यस्तो प्रस्ताव गरेका थिए । चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने (नाम नखुलेका) व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए । 

विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो । यो समाचार आजको नयाँ  पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस