aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भटाभट मरे गैंडा, कारण पत्ता लागेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
भटाभट मरे  गैंडा, कारण पत्ता लागेन

चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन्। तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन्। झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए।

‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं। त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’

पछिल्लो तथ्यांकअनुसार देशभर ६ सय ४५ गैंडा छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा मात्रै ६ सय ५ वटा छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा २८, शुक्लाफाँटामा नौ र पर्र्सा राष्ट्रिय निकुञ्जमा तीनवटा रहेको विभागको तथ्यांक छ। चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारणले दुई गैंडा मरे। डिभिजन वन कार्यालय चितवनमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा मरे। यीमध्ये ड्यामबाट खसेर एक र होटलको सेफ्टी ट्यांकमा खसेर एउटाको मृत्यु भएको थियो।

राप्ती र नारायणी नदीको बाढीले बगाएका ११ गैंडा गत वर्ष उद्धार गरिएको थियो। नौवटा भारतबाट र एउटा त्रिवेणीबाट उद्धार गरेर ल्याइएको थियो। बाढीका कारण चार गैंडा मरेका थिए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सन् २०१४ देखि सन् २०१७ सम्ममा ६१ वटा प्राकृतिक कारणले मरेका थिए। २०५८ मा चोरी सिकारीबाट ३७ वटा मारिएका थिए। २०७३ सालपछि चोरी सिकारीबाट एउटा पनि गैंडा नमरेको ढकालले बताए। यो समाचार आजको अन्नपुर्ण पोष्टबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस