
नेपाल राष्ट्र बैंकमा ३० वर्षको सेवापछि बीमा क्षेत्रमा प्रवेश गरेका नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भुमिका रहेर कार्य सम्पादन गरिरहेका छन् । राष्ट्र बैंक जस्तो नियामक निकायमा बसेर कार्य सम्पादन गरेका पौडेलका लागि बीमा क्षेत्र फरक हो । चौथो वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले साधारण शेयर (आईपीओ) जारी गरिसकेको छ भने व्यवसायलाई पनि बढाउँदै अघि बढेको छ । प्रभु ग्रूपको ब्राण्ड बोकेको यस कम्पनीको अहिलेसम्मको अवस्था, यस क्षेत्रमा देखिएका अवसर र चुनौती तथा अबका दिनमा कम्पनीले गर्ने व्यवसाय र शेयरधनीलाई दिने प्रतिफलका विषयलाई लिएर सीईओ पौडेलसँग आर्थिकन्युज डकमले गरेको आर्थिक वहसः
प्रभु लाइफ ३ वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा तपाईले नेतृत्व गर्नु भएको संस्थाको अवस्था कस्तो छ ?
हामीले २०७४ मङ्सिरबाट काम सुरु गरेका हौँ । हामी जीवन बीमा कम्पनीमा नयाँ हौं र पनि हामीले हाम्रोतर्फबाट गर्न सक्ने जति इफोर्ट लगाएर काम गरिरहेका छौं । यस अर्थमा कम्पनीले राम्रो गरिरहेको छ र अबका दिनमा पनि राम्रो गर्छ भन्ने हो ।
कम्पनीको वित्तीय सूचकहरू राम्रा छन् । अहिले हामी दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं । हाम्रो अहिलेको पुँजी २ अर्ब रूपैयाँ हो । बीमा समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
सोही अनुसार हामीले साधारण शेयर (आईपीओ) पनि निष्काशन गरिसकेका छौं र अहिले कम्पनीको पुँजी एक अर्ब ६० करोडमा ४० करोड साधारण शेयर निष्काशन गरेपछि पुँजी बढेर २ अर्ब पुगेको छ । हामी ३ वर्ष पूरा गरेर ४ वर्षमा लागेका छौँ । असोज मसान्तसम्म हामीसँग आबद्ध भएका बिमितको बिमालेख संख्या १ लाख २० हजारभन्दा माथि छ । कोभिडका बोला केही असर परेको हो । तर, पछिल्लो समय व्यवसाय राम्रो बन्दै गएको छ । कम्पनीले गरेको प्रगति तथा अवस्था हाम्रो वित्तीय प्रतिवेदनले देखाउने नै छ ।
खासमा बीमा कम्पनीहरूलाई कसरी हेर्ने हो ?
विशेष गरेर बीमा कम्पनीहरूमा बीमा लेख र यसमा भएको दाबी भुक्तानीको अवस्थालाई हेर्ने गरिन्छ । हामी नयाँ बिमा कम्पनी भएको हुनाले हामी कहाँ त्यति ठूलो दाबी भुक्तानी छैन, सामान्य नै छ । यो निश्चित समय पछि बढ्दै नै जाने छ । बीमा लेखका सम्बन्धमा हामीले प्रगति गरिनै रहेका छौ ।
हामीले त्यति धेरै महत्वकांक्षी लक्ष्य पनि राखेका छैनौ । लक्ष्य नराखिएको भनेर बुझ्न पनि भएन । महत्वकांक्षी लक्ष्य छैन मात्रै भनिएको हो । हामी रोखेको लक्ष्यमा हामी सजिलै पुग्न सक्छौं भन्ने हो । हाम्रो गन्तव्य पनि त्यहि हो । हामीले योजनाहरू बनाउँदा बजार र कम्पनीको अवस्था हेरेर बनाएको हुन्छौं । त्यसैले हाम्रो समग्र प्रगति सन्तोषजनक बाटोमै छ । बजारमा राम्रै गर्छौं भन्ने पूर्ण विश्वासका साथ कार्य सम्पादन भइरहेकोे छ ।
प्रभु लाइफ इन्स्योरेन्ससँग कस्ता कस्ता प्रडक्ट छन् ? र कुन प्रडक्ट आम सर्बसाधारणले रुचाएका छन् ?
बजारको मागअनुसार हामीले प्रडक्ट डिजाइन गरेका हुन्छौं । नेपाली बजारमा १९ वटा जीवन बीमा कम्पनी छन् । प्राय सबैको प्रडक्ट उस्तै उस्तै नै छन् । कसैको प्रडक्टमा प्रिमियम धेरै होला त केहीमा थोरै होला । बिमाङ्कीय रकम पनि यस्तै हो । केहीमात्रै तलमाथि हुन सक्छ । नत्र सबैको उस्तै नै हो । हामीसँग भएका १२/१३ वटा प्रडक्टमध्ये इन्डोमेन्ट पोलिसी अलिबढी सेल भएको छ ।
हामीले सावधिक जीवन बिमा, म्यादी जीवन बिमा, अग्रिम भुक्तानी जीवन बिमा लगायतका प्रोडक्ट ल्याएका छौँ । फेरि बुझ्नु पर्ने कुरा के हो भने एक पटक ल्याएको प्रोडक्ट सधैँ एउटै रहँदैन । समय, सन्दर्भ, बजारको बदलिँदो परिस्थिति र प्रतिस्पर्धाको अवस्था अनुसार हामीले नयाँ प्रोडक्टहरू पनि ल्याउनुपर्ने हुन्छ । यसका लागि हामी सधै नै लागिरहेका हुन्छौं ।
नयाँ प्रडक्ट ल्याउन कतिको सहज छ ?
हामीले नयाँ प्रडक्ट ल्याउन चाहने वित्तीकै ल्याउन सक्ने अवस्था पनि छैन । बजार हेर्नु पर्यो । पोलिसी ल्याउँदा बीमा एक्चुरीले यसका वारेमा अध्ययन तथा रिसर्च गर्छ र यसबाट बीमा बजारमा के कस्ता फाइदा पुग्छ वा कम्पनीलाई कसरी लाभ पुर्याउँछ भनेर पूरै मूल्यांकन गरिएको हुन्छ । बीमा समितिको स्वीकृतीले मात्रै कम्पनीहरूले नयाँ पोलिसी लन्च गर्न सक्छन् । यसका लागि धेरै गृहकार्य गर्नुपर्छ । रिसर्च नगरी ल्याएको पोलिसीले कम्पनीलाई राम्रो गर्छ भन्ने हुँदैन ।
बीमा कम्पनीहरूले समयमा वार्षिक साधारणसभा गर्न नसक्नुको कारण स्वदेशमा एक्चुरी नहुनुमात्रै हो कि अन्य कारण पनि छन् ?
नेपालमा एक्चुरी छैनन् । यो सबैलाई थाहा भएकै कुरा हो । फाट्टफुट्ट भए पनि आवश्यकता फूलफिल हुने गरी अर्थात बजार माग अनुसार एक्च्युरी छैनन् । कम्पनीले आर्थिक वर्षको अन्त्यपछि ब्यालेन्स सिट बनाएर शुरुमा बीमा समितिमा पठाउँछ । समितिले सहमति लिएपछि हामीले साधारणसभा गर्न सक्ने अवस्था छैन । बिमाङ्कीय मूल्यांकनको लागि भारतमा पठाउनु पर्छ । उताबाट मूल्यांकन भएर आउँन नै समय लाग्छ ।
एक्च्युरी सहमत भएको ब्यालेन्स सिटमा बिमा समितिको सुझाव समेटेपछि मात्रै प्रक्रिया पूरा हुने कारणले साधारणसभा गर्न ढिलाइ भएको हो । त्यो प्रक्रियामा हामी अलिकति छिटो भएका हौँ । तर, पनि हामीले चाहेको जस्तो छिटो हुन भने सकिरहेको अवस्था छैन । यतिलेमात्रै प्रक्रिया पूरा हुँदैन । कम्पनी रजिस्ट्रारको कार्यालयमा विवरण दर्ता नभई अघि बढ्न सकिँदैन । यी सबै व्यवस्थापन मिलाउँदा समय लाग्छ ।
जीवन बीमा बजारमा एक्कै पटक १० वटा कम्पनी आए । त्यति बेला बजारले धान्न सक्दैन कि भन्ने थियो । तर, अहिले सबैले राम्रै व्यवसाय गरिरहेका छन् । साँच्चै नेपालमा बीमा बजार फराकिलो रहेछ, होइन त ?
यसलाई हामीले विभिन्न पक्षबाट हेर्नुपर्ने हुन्छ । चार वर्ष अघिसम्म बीमाको पेनिटेसन सात प्रतिशतको हाराहारीमा थियो । अहिले समग्रमा बीमा बजार बढेर २७ प्रतिशत पुगेको छ । अहिले हामी एक तिहाइ बजार पनि पुग्न सकेका छैनौ । सय प्रतिशतमा २७ प्रतिशतमात्रै पुग्नु भनेको अझै पनि यसबीचमा ठूलो भ्याकुम छ वा खाली छ भन्ने हो । बीमा बजारमा सम्भावना र अवसर दुबै छन् । अहिले बजार वर्षैपिच्छे बढ्दै गएको छ । जबसम्म स्याचुरेसनमा पुग्दैन तबसम्म सम्भावना रहिनै रहन्छ ।
पब्लिक कम्पनीले आम शेयरधनीलाई प्रतिफल पनि दिनुपर्ने हुन्छ । कहिलेदेखि लाभांश दिनुहुन्छ शेयर धनीलाई ? अहिले भइरहेको बिजनेशले कति प्रतिफल दिन सकिन्छ जस्तो लाग्छ तपाईलाई ?
कम्पनीको बिजनेश ‘आहा’ भन्ने नभए पनि राम्रो छ । अहिले नै यति उति भन्नु भन्दा पनि आगामी आवमा सबै शेयरधनीलाई उचित लाभांश दिन्छौं भन्ने हो । यसमा कुनै शंका छैन । हामीले राम्रो नै गरिहेकाले लाभांश दिने हैसियतमा कम्पनी पुगेको छौं । १०/१२ प्रतिशत लाभांश दिन २०/२२ करोड भए पुगिहाल्छ । सहजै हामी यो अवस्था पुग्छौं भन्ने आत्मविश्वास छ ।
केही समयअघि आईपीओ पनि आइसकेको छ । बजारमा यसको शेयर मूल्य पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । आईपीओमा गएपछि हामी लाभांश दिनका लागि योग्य भएका छौं भन्ने हो । फेरि लाभांश दिने कुरा सञ्चित जगेडा रकममा कति रहन्छ त्यसमा भर पर्दछ ।
पूराना बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्न कतिको सहज छ ?
पुराना कम्पनीहरू स्थापित भइसकेका छन् । उनीहरूले बजार पनि बनाइसकेका छन् । नयाँ कम्पनीको तुलनामा उनीहरूको सञ्जाल पनि ठूलो भइसकेको छ । बजार विस्तारमा पहुँचका साथै ब्राण्ड पनि बनिसकेको हुन्छ । नयाँ कम्पनीहरू नयाँ उत्साह र योजना लिएर आएका छन् । त्यही हिसाबले आफ्नो पूर्वाधार पनि बनाउँदै लगेका छन् ।
हुनत हामीसँग पनि ‘प्रभु ग्रूप ब्रान्ड छ । यस्तो ब्रान्ड वा पहिचानले पनि हामीलाई अझ बढी स्ट्रेन्थ मिलेको छ । बजार विस्तार तथा स्थापित हुन मुख्य प्रवद्र्धक र व्यवस्थापन को छन् भन्ने कुराले पनि अर्थ राख्छ । यस हिसावले हामीलाई अन्य नयाँ कम्पनीको भन्दा बजारमा व्यवसाय गर्न अझ सहज भएको छ ।
प्रतिस्पर्धाको कुरा गर्दा नयाँ जीवन बिमा कम्पनीलाई पुरानाको र पुरानालाई नयाँको असर परेको हुन सक्छ, पुरानालाई पनि नयाँले केही असर परेको हुन सक्छ । बजारमा स्वस्थ र प्रतिस्पर्धी ढंगबाट जसले सेवा दिन सक्छ उसले नै बजारमा व्यवसाय बढी गर्ने हो या उसैले बढी हिस्सा लिने हो ।
बीमा क्षेत्रमा मर्जरको आवश्यकता कति देख्नु भएको छ कि छैन ? के बीमा बजारको अनुपातमा कम्पनी बढी भएका हुन् त ?
बीमा क्षेत्रमा पर्याप्त बजार भएकाले मर्जर नै गरिहाल्नु पर्छ भन्ने देखिदैन । मर्जरका कुरा बेलाबेलामा उठ्ने र सेलाउने गरेका छन् । यसमा बीमा समितिको निर्देशन पनि छ । तर, एउटा रेगुलेटरले मर्जर र एक्विजिसनको योजना ल्याएको छ हामीले पनि ल्याउनु पर्छ भन्ने होइन कि त्यसको आवश्यकता त्यो क्षेत्रमा कति को भनेर बुझ्नु पर्छ । तर, क्रस होल्डिङ भएका कम्पनीहरू भने मर्जर हुँदा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ किन छुट्टाछुट्टै बसेर एउटै क्षेत्रमा व्यवसाय गर्ने भन्ने विषय चाहिँ मूलभूत विषय हो ।
तपाईंसँग ३० वर्ष राष्ट्र बैंकमा बसेर काम गरेको अनुभव छ । नियमन विभागदेखि विभिन्न विभागमा विभागीय प्रमुख भएर काम पनि गर्नु भयो । राष्ट्र बैंकको नियमन र बीमा समितिको नियमनलाई तुलना चाहिँ कसरी गर्नु भएको छ ?
नियमनको आवश्यकता जुनसुकै क्षेत्रमा पनि उत्तिकै पर्दछ । राष्ट्र बैंक नेपालमा भएका अरू नियामक निकायको तुलनामा अलि बढी नै व्यवस्थित नियामक निकाय हो । त्यसको गाम्भीर्यता, त्यसको महत्व, त्यसको अर्थ घटबढ हुन सक्छ । नेपाल राष्ट्र बैंक कानुनी हिसाबले पनि पर्याप्त अधिकार प्राप्त भएको निकाय हो ।
बैंकिङ क्षेत्रको ३५/३६ सय अर्ब डिपोजिटको प्रोटेक्सन ठूलो कुरा हुन्छ । भोलि गएर बैंकमा कुनै किसिमको समस्या आयो भने त्यो बैंकिङमा मात्रै सीमित रहँदैन । बैंकिङ क्षेत्रको महत्व समग्र वित्तीय बजारमा अलि बढी नै हुन्छ । तर, बीमा क्षेत्रमा त्यस्तो हुँदैन ।
बीमा क्षेत्रको हकमा स्वस्थ प्रतिस्पर्धात्मक विकास र विस्तारका लागि र बिमितको हक हित संरक्षणका लागि नियामक निकायले मुख्य भुमिका खेल्नुपर्ने हुन्छ ।
यसको नियमन गर्ने, सुपरिवेक्षण गर्ने, आवश्यक पर्दा कारबाही गर्ने र कुनै किसिमका विचलन भएमा त्यसलाई सही बाटोमा ल्याउने बाटोमा राष्ट्र बैंकको धेरै नै पहल कदमी रहन्छ । अब बीमा पनि आवश्यक कानुनहरू निर्माण गरेर यो क्षेत्रलाई अझ बढी व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउन पर्छ ।
प्रतिक्रिया दिनुहोस