
एजेन्सी । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ ।
बीबीसीका अनुसार अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ। भारतीय सेनाले नाकुला क्षेत्रमा ज्यानुअरी २० मा मामुली घटना भएको र त्यो स्थानीय सैन्य कमाण्डरहरूले प्रचलित प्रक्रिया अनुरूप सुल्झाएको बताएको छ।
चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन। सिक्किम क्षेत्र भुटान र नेपालबीच पर्छ। भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ। मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए। भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन्।
प्रतिक्रिया दिनुहोस