
काठमाडौं । विशेष गरी कार्तिकपछि नेपालको धितोपत्र बजार उचालिन थालेपछि यसबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पुँजीगत लाभकरबाट तीन अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । यस वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्व विभागले ९ अर्बभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । साउनदेखि पुससम्म संकलित पुँजीगत लाभकर गत आवकोभन्दा तीन अर्ब ६४ करोडले बढी हो । सरकारले गएको आर्थिक वर्षको पुससम्म ५ अर्ब ३६ करोड पुँजीगत आभकर संकलन गरेको थियो ।
सरकारले संकलन गरेको कुल पुँजीगत लाभकरमा ३ अर्बभन्दा बढीको हिस्सा धितोपत्र विनियम बजारको रहेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन दाहालले बताए । उनले भने ‘गत आवको यो अवधिमा जम्मा ३० करोडमात्र धितोपत्र विनियम बजारबाट पुँजीगत लाभकर उठेकोमा अहिले बढेर ३ अर्बभन्दामाथि पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शेयर बजारमा भएको कारोबारको आधार नै कर बढाएको हो । विशेष गरी अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रीबाट बाहिरिएपछि शेयर बजार बुलिश ट्रेनमा देखिएको छ । दिनहुँ नयाँ उचाइमा धितोपत्र बजार पुग्दा यसबाट हुने आम्दानी पनि बढेको हो ।
गत आर्थिक वर्षको तुलनामा कारोबार रकम उल्लेख्य बढेको, ठूलो परिमाणमा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, कारोबार संख्या बढेकोलगायत कारण पुँजीगत लाभकर संकलन उच्च दरले बढेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले आचार्यले बताए ।
‘गत साउनदेखि मंसिरसम्मको ५ महिनामा पौने ३ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो,’ उनले भने ‘ अहिले लाभकर बढेर ४ अर्ब नाघेको छ । मंसिरसम्म सरकारले २ अर्ब ७४ करोड पुँजीगत लाभकर (सीजीटी) संकलन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा संकलन भएको लाभकर करिब साढे १२ सय प्रतिशतले बढी हो । हालको कानुनी व्यवस्थाअनुसार शेयर कारोबारमा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्स्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।
पुँजी बजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले २०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि २ वर्ष नाघिसकेको छ । दोस्रो बजार लागनी गर्ने लगानीकर्ता पनि दिनप्रतिदिन बढ्दै गएका छन् । अहिलेसम्म २६ लाख ४० हजारले डिम्याट खाता खोलिसकेका छन् भने बजार पुँजीकरण करिब ३३ खर्ब पुग्न लागेको छ । साउनमा बजार पुँजीकरण १८ खर्ब थियो । यो अवधिमा १५ खर्बले बजार बढेको हो ।
प्रतिक्रिया दिनुहोस