
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।
निर्वाचनका लागि भएको खर्चले पनि आर्थिक क्रियाकलाप बढाउने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उनको टिप्पणी थियो । ‘निर्वाचन प्रयोजनका लागि गरिने खर्चले अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग मिल्छ,’ उनले भने । संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको अर्थमन्त्री पौडेलले बताए । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्याे भन्ने बुझाइ गलत भएको उनको भनाइ छ । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव गर्याे भन्ने अर्थमा बुझ्न नहुने बताए ।
जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अस्थिरता निम्त्याउने, अन्तर कलहमा अल्झिने प्रतिनिधिसभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधिसभाको निर्माण अहिलेको माग रहेको अर्थमन्त्री पौडेलको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस