
काठमाडौँ, वैशाख ७ गते । हुलाकी राजमार्ग हुँदै धनुषा र सिरहा जोड्ने ४७० मिटर लामो कमला पुल निर्माण सुरु भएको आठ वर्ष बित्यो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको थियो । तीन पटक म्याद थप भए पनि पुल निर्माण नहुँदा गत मङ्सिर ३० गते ठेक्काको म्याद सकियो ।
हुलाकी राजमार्ग निर्देशनालय जनकपुर इकाईका सूचना अधिकारी कमल साहले मङ्सिरपछि म्याद थप नभएको जानकारी दिनुभयो । पप्पु लुम्बिनी जेभीले निर्माण ठेक्का पाएको उक्त पुलको निर्माण अलपत्र छ ।
सिरहा बसबिट्टाका ६० वर्षीय हुसेनी धुनियाँ भन्नुहुन्छ, ‘कमला नदीको पुल र हुलाकी राजमार्ग दुवैको निर्माणले पूर्णता पाउनेमा आशा मारेका छौँ ।’ धुनियाँले तीनदशकदेखि सिरहा र धनुषाको ग्रामीण बजारमा स्थानीय उत्पादनको खरीद बिक्री गर्दै आउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा एक खर्ब १८ अर्ब रुपियाँ लागत भएका एक हजारभन्दा बढी आयोजना अलपत्र रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि त्यस्ता योजनाको निर्माण, कार्यान्वयनको अवस्था यतिबेला व्यापक चर्चाको विषय बनेको छ ।
“योजना समयमै पूरा नहुँदा सरकार र राजनीतिप्रति सर्वसाधारणको अनास्था बढ्छ” जनकपुरधामका अर्थविद् एवम् प्राडा भोगेन्द्र झा तर्क गर्नुहुन्छ । उहाँ अलपत्र आयोजनाको आर्थिक र सामाजिक नोक्सानी त झनै धेरै भएको बताउनुभयो ।
आयोगले ‘क्रोनिक’ नाम दिएका यस्ता एक हजार ३२ आयोजनाको विषयमा अहिले सबैतिर चासो बढेसँगै प्रधानमन्त्री कार्यालयले सम्भवतः वैशाखको दोस्रो सातामा यस विषयमा छलफल गर्ने तयारी गरेको छ ।
समयमै पूरा नभई अलपत्र परेका एक खर्ब रुपियाँभन्दा बढीका ‘क्रोनिक’ योजनाबारे राष्ट्रिय विकास समस्या समाधान समितिमा छलफल हुने गरेको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने विकास समितिको बैठकमा आयोजना अलपत्र पर्नाले समय र लगानी खेर गएर राज्यलाई ठूलो क्षति पुगेको भन्दै आगामी रणनीतिबारे छलफल गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ ।
यताका दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता आयोजनामा गम्भीर चासो देखाउनुभएको छ । उहाँले राष्ट्रिय विकास समस्या समाधान समितिका विगतका बैठकमा पनि कतिपय निर्देशन दिइसक्नुभएको छ । गोरखापत्र दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस