
काठमाडौं । सुधीर बस्नेतको भेगास सिटीको लिलामी प्रक्रिया सुरु भएको छ । ऋण लिएर समयमा चुक्ता नगरेको भन्दै कर्मचारी सञ्चय कोषले ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सो हाउजिङको करिब ४ रोपनी १३ आना क्षेत्रफलको जग्गा लिलामीमा चढाएको हो ।
हाउजिङ व्यवसायी तथा ओरेन्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष बस्नेतले कर्मचारी सञ्चय कोषसँग ऋण लिँदा उक्त सम्पत्ति सुरक्षण बापत राखेका थिए । कोषले ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्थाको उल्लंघन गरेको, आयोजनाको निर्माण कार्य स्थगित गरी अलपत्र बनाएको, कर्जा शर्तहरु पालना गर्न, कर्जा चुक्ता गर्न पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेको तथा वर्षौंदेखि कोषको सम्पर्कमा समेत नआएको आरोप बस्नेतमाथि लगाएको छ ।
हाल कोहिनुर हिल्समा बस्नेत तथा उनकी श्रीमती नितु थापा सञ्चालक छन् । सो हाउजिङ १३ वटा कित्ता जग्गामा फैलिएको छ । सो जग्गाको खरिद गर्न चाहने व्यक्ति वा संस्थालाई फागुन १७ गतेभित्र कोषको केन्द्रीय कार्यालयमा शिलबन्दी बोपलत्र पेश गर्न आह्वान गरिएको छ ।
बस्नेतले भेगास सिटीको निर्माण सम्पन्न गरेर सबैको ऋण चुक्ता गर्ने यसअघि बताउँदै आएका थिए । यही बीचमा कर्मचारी सञ्चय कोषले लिलामीको प्रक्रिया थालेको हो । यद्यपि बोलपकर्ताको छनौट भई सम्पत्ति हस्तान्तरण नभएसम्म कोषको सावाँब्याज तिरेमा सो सम्पत्ति बस्नेतले नै फिर्ता पाउने कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस