
काठमाडौं । नेपाल चेम्बस अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कारोबार मूल्यलाई मान्यता नदिँदा व्यापारमा झमेला आएको बताएका छन् । आज ६९ औ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबार मूल्यलाई परिवर्तन गर्न मिल्छ कि मिल्दैन भनेर प्रतिपश्न गरे ।
‘विश्व व्यापार संगठनको सिद्धान्तले के भन्छ,’ उनले भने ‘यदि सिद्धान्त विपरित हो भने हामी यसका विरुद्धमा मुद्दामा जानुपर्ने हुन्छ ।’ यस विषयमा हामीलाई भन्सार प्रशासनले पढाउनु पर्यो ।’ होइन भने सामान कसरी आयात गर्ने त्यो सिकाइदिनु पर्यो ।’ ‘जबसम्म कारोबार मूल्यले मान्यता पाउँदैन, तबसम्म व्यापार सहजीकरण हुन सक्दैन।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाले व्यापार प्रक्रिया अहिले पनि झण्झटिलो र खर्जिलो भएको बताएका छन् । भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले अहिले पनि सामान आयात गर्नको लागि २० प्रकारका डकुमेण्ट तयारपार्नुपर्ने बताएका हुन् । ‘अहिले पनि तेस्रो मुलुकबाट वस्तु आयात गर्न ३२ दिन लाग्छ,’ उनले भने ‘निर्यात गर्न २८ दिन ।’ वस्तु आयात गर्नको लागि १३ सय २० अमेरिकी डलर खर्च गर्नुपर्छ ।’ पछिल्लो समय भन्सार प्रशासनका पूर्वाधारहरू तयार हुँदै गरेका छन् र आज शुरु गरिएको एकद्वार प्रणालीले पनि अझ यसलाई सहज बनाएको अध्यक्ष गोल्छाले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले भन्सार एजेन्टको संख्या बढाउनु पर्ने माग राखेका छन् । ‘भन्सार मूल्यांकनमा समस्या छ,’ उनले भने ‘सन्दर्भ मूल्यलाई आधार मानेर व्यापार गर्दा अप्ठ्यारो परेको छ ।
एकद्वार प्रणाली लागू
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको सुरूवात गरेका छन् । आज भन्सार दिवसको अवसर पारेर उक्त प्रणालीको शुरुवात गरिएको हो । सो प्रणाली लागू भएपछि वैदेशिक व्यापारको लागि सहज हुने उनले बताए ।
‘प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गरेको छ,’ उनले भने ‘प्रणाली अन्तर्गत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ । प्रणालीअन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न सकिन्छ र सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउन सकिन्छ ।
मन्त्री पौडेलले निजी क्षेत्र विना भन्सार र भन्सार विना निजी क्षेत्रको अस्तित्व नहुने भएकाले यी दुई एउटै सिक्काका दुई पाटा भएको बताए । पौडेलले कोभिड खोप लगाउने अभियान अब निरन्तर अघि बढ्ने पनि बताए । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बोल्दै अर्थसचिव शिशिर ढुंगानाले भन्सारलाई सुदृढ गर्नका लागि सरकार लागि परेको बताए । सूचना प्रविधिमा आधारित प्रणाली विकासमा सरकारले भन्सार प्रशासनमा लगानी बढाउँदै गएकाले पूर्वाधारहरूतय हुँदै गएको बताए ।
कार्यक्रममा उद्यागे, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले भन्सारलाई राजस्व संकलन गर्ने कार्यालयका रूपमा मात्रै भन्दा व्यापार सहजीकरणको प्रमुख निकायको रूपमा रहेको बताए । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भने भन्सार विभागले कोभिड–१९ को संकटमा पनि आपूर्ति व्यवस्था सहज बनाउन भन्सारले खेलेको भूमिकाको प्रसंसा गरे । उनले भविष्यमा पनि उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन दिए।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार दिवसको दिन पारेर एक द्वार प्रणाली लागू गरिएकोले यो पटकको भन्सार दिवस विशेष भएको बताए । यो प्रणालीले आम आयात तथा निर्यातकर्तालाई सहज हुने उनको भनाइ थियो । प्रणालीले व्यापार प्रक्रिया निकै छोटो बनाउने बताइएको छ भने लागत १५ देखि २० प्रतिशतले घट्ने दाबी गरिएको छ । प्रणालीको विकास यूएईको वेब फोन्टेनले गरेको हो । प्रत्येक वर्ष २६ जनवरीमा संसारभर भन्सार दिवस मनाइन्छ । यसपटकको भन्सार दिवस ६९ औं संस्करण हो ।
यो प्रणालीबाट सरल र दु्रत व्यापारिक कारोबार, लाइसेन्स इजाजत र प्रमाणपत्र अनलाइन प्रक्रिया, व्यापारका लागि एकल मञ्च, अन्तरसम्बन्धित कार्य गर्न सहज भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस