
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । महासंघ कार्यसमितिले विभिन्न ८ वटा समिति गठन गरेर पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिएको हो । महासंघको महत्वपूर्ण जिम्मेवारीका रुपमा विधान संशोधन समितिको जिम्मेवारी कुशकुमार जोशीलाई प्रदान गरिएको छ ।
यसैगरी सदस्यता समिति र नेपाल–भारत सयुक्त व्यापार फोरमको जिम्मेवारी निवर्तमान अध्यक्ष भवानी राणालाई, सल्लाहकार समितिको जिम्मेवारीमा महेशलाल प्रधान, व्यावसायिक आचारसंहिता फोरममा पद्य ज्योति, कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको जिम्मेवारी प्रदीपकुमार श्रेष्ठलाई दिइएको छ ।
त्यसैगरी अनुशासन समितिको जिम्मेवारी रविभक्त श्रेष्ठलाई, नेपाल चाइना नन गभरमेन्टल कोअपरेसन फोरमको जिम्मेवारी बिनोदबहादुर श्रेष्ठलाई र अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी सुरज बैद्यलाई दिइएको हो । महासंघलाई आजको अवस्थासम्म ल्याईपुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच पूर्वअध्यक्षहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेको हो । उनले वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस