aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नगरपालिकामा अनलाइन भुक्तानी सेवा शुरु गर्न क्लियरिङ हाउससँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
नगरपालिकामा अनलाइन भुक्तानी सेवा शुरु गर्न क्लियरिङ हाउससँग सम्झौता

 वालिङ । सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ । 

नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो । “स्मार्ट सिटीका रुपमा विकास गर्न लागिएको नगरपालिकालाई हामीले ‘पेपर लेस’ र ‘क्यास लेस’ नगरका रुपमा अगाडि बढाउन खोज्दै छौँ,” नगरप्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले पहिलो चरणमा क्लियरिङ हाउससँग सम्झौता गरेका छौँ भने आगामी दिनमा अन्य संस्थासँग पनि सहकार्य गर्दै लगिनेछ ।”

नगरवासी काम विशेषले वालिङभन्दा बाहिर कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सोको भुक्तानी पनि मोबाइलबाट घरमै बसेर गर्न सकिने नगरप्रमुख खाँणले बताउनुभयो । “अनलाइन सेवाका लागि नगरपालिकाको टोली तयारी सकेर बसेका छौँ,” नगरप्रमुख खाँणले भन्नुभयो, “डिजिटल सिग्नेचरको पर्खाइमा छौँ, अनुमति प्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अगाडि बढ्छौँ ।”

नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने क्लियरिङ हाउसका कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । “सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्न पर्ने झन्झट नभई घरबाटै सेवा लिने र घरबाटै अनलाइनमार्फत आफ्नो बैंकको खातामार्फत नगरपालिकाको बैंक खातामा पठाउन सकिन्छ,” कार्यकारी अधिकृत प्रधानले भन्नुभयो । 

केन्द्रीय तहमा कार्य गर्दै आएको क्लियरिङ हाउसले अनलाइन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधि पहिलो पटक स्थानीय तहमा वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । ‘पेपर लेस’ अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरवासीलाई अभिमुखीकरण तालीम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस