
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेश र स्थानीय सरकारले पनि कम खर्च गरेका छन् । चालु आर्थिक वर्षको पुससम्म प्रदेश सरकारले ३५.३ प्रतिशत अर्थात ३५ अर्ब ५४ करोड रुपैयाँमात्र खर्च गरेको हो भने स्थानीय तहले ४३.७ प्रतिशत अर्थात एक खर्ब १६ अर्ब ९४ करोड बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा स्थानीय तहलाई एक खर्ब ७४ करोड र प्रदेश सरकारलाई २ खर्ब ६७ अर्ब ७३ करोड बजेट विनियोजन भएको छ । सो बजेटमध्ये उनीहरूले पनि संघ सरकारको जस्तै त्यति बजेट खर्च्र गर्न सकेका छनन् । देशमा ७ वटा प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन् ।
देशभरका ७५३ स्थानीय तहमध्ये १५ स्थानीय तहले आम्दानी र खर्चको विवरण अझै स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा प्रविष्ट नगरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार महालेखा नियन्त्रक कार्यालयले हरेक वर्ष पुस महिनाभित्र अघिल्लो आर्थिक वर्षमा तीनै तहका सरकारको सञ्चित कोषको आम्दानी र खर्चको विवरण संघीय सरकारलाई पेश गर्नुपर्छ ।
सबै स्थानीय तहले आम्दानी र खर्चको विवरण सबनेशनल ट्रेजरी रेगुलेटरी एप्लीकेसन अर्थात् सुत्रमा स्थानीय तहको आम्दानी र खर्चको विवरण दाखिल गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार २०७५÷७६ देखि सञ्चालनमा ल्याइएको हो । यो प्रणालीमा २०७६÷७७ देखि सबै स्थानीय तहले यो प्रणालीमा आवद्ध भइ आम्दानी र खर्च विवरण यस प्रणालीमा दाखिला गरेका गर्नुपर्ने थियो । तर, गत आर्थिक वर्षमा प्रणालीमा ७३४ स्थानीय तहले अनलाइन (लाइभ) विवरण दाखिला गरे भने बाँकीले एकमुष्ट दाखिला गरेका थिए । अहिले पनि १५ वटा स्थानीय तह सुत्रमा आवद्ध नभएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।
प्रत्येक खर्चको सम्पूर्ण विवरणसहित जानकारी राखिने वा सरकारी खर्च ‘ट्रयाक’ गर्ने यो प्रणालीमा विवरण दाखिल गराउन अटेर गर्नेमा बढी प्रदेश दुईका स्थानीय तह छन् । सुत्रमा आफ्नो खर्चको हिसाव किताव राख्न अटेर गर्ने स्थानीय तहहरूमा प्रदेश २ का धनौजी गाउँपालिका (धनुषा), कमला नगरपालिका (धनुषा), छिन्नमस्ता गाउँपालिका (सप्तरी), नरहा गाउँपालिका (सिरहा), मलंगवा नगरपालिका (सर्लाही), हरिपुर्वा नगरपालिका (सर्लाही), कटहरिया नगरपालिका (रौतहट), बौधीमाई नगरपालिका (रौतहट), राजदेवी नगरपालिका (रौतहत) छन् । त्यस्तै, अन्य स्थानीय तहमा मोलुङ गाउँपालिका (ओखलढुंगा), आमाछोदिङमो गाउँपालिका (रसुवा), सूर्यगढी गाउँपालिका (नुवाकोट) बाग्मती प्रदेशका स्थानीय तह छन् । त्यस्तै, कर्णाली प्रदेशका अदानचुली गाउँपालिका (हुम्ला), महावै गाउँपालिका (कालीकोट) र बुढीगंगा नगरपालिका (बाजुरा) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस