
काठमाडौं । मुलुकको वित्तीय सन्तुलनको अवस्था नाजुक बन्दै गएको देखिएको छ । मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको हो ।
चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा मुलुकको शोधनान्तर घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ अर्ब २७ करोड रुपैयाँले बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको वैशाखसम्ममा मुलुकको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले माग घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाखले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थितिमा चाप पर्नुमा व्यापारघाटा नै मुख्य कारण हो । १० महिना अर्थात वैशाख मसान्तसम्ममा कुल व्यापारघाटा १९.७ प्रतिशतले विस्तार भई १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ भने कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस