aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २० माघ २०७७
विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा उपकरण जडानका लागि विदेशी विशेषज्ञसहितको प्राविधिक टोली आउने अझै निश्चित भएको छैन । आयोजनाले भने चीन, अमेरिका, बेलायतलगायत मुलुकबाट विशेषज्ञ ल्याउने पहल भइरहेको जनाएको छ ।

उपकरण जडानका लागि विदेशी केही विशेषज्ञलाई आयोजनास्थलमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको र सातारदस दिनमा नतिजा देखिने आयोजनामा संलग्न अधिकारीको दाबी छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण विदेशी प्राविधिक टोली नआएकाले एक वर्षभन्दा बढी समयदेखि आयोजनास्थलमा उपकरण जडानको काम हुन सकेको छैन । जसका कारण ९३ प्रतिशत भौतिक संरचना पूरा भइसकेको यो आयोजना सम्पन्न हुन र सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको छ । विदेशी प्राविधिक टोली नआएकै कारण पाँचौंपटक थपिएको आयोजनाको म्याद सकिएर छैटौं पटकका लागि म्याद थप्न पनि अन्योल भइरहेको छ ।

उपकरण जडानका लागि अमेरिका र बेलायतबाट दुई जना विशेषज्ञ आउने तयारी भइरहेको र उनीहरू आउनासाथ उपकरण जडानको सुरु हुने राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए । ‘ती विशेषज्ञको भिसा लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘उनीहरू आउनासाथ आयोजनाको आईसीबी–२ तर्फको काम सुरु गरिनेछ ।’ विशेषज्ञले सिकाएअनुरूपको काम अन्य कामदारले गर्ने भएकाले आईसीबी–२ तर्फको उपकरण जडानको काम प्राविधिकको कमीले रोकिन नपर्ने उनको भनाइ छ । आयोजनाको आईसीबी–१ तर्फका उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली पनि आउने क्रममा छन् । उनीहरूले कोभिडविरुद्धको तेस्रो चरणको खोप लगाइसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस