काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आगामी फागुनको पहिलो सातादेखि अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर (पथान्तरण) परीक्षण गर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाले गत असार ३० गते भएको आकस्मिक दुर्घटनाको क्रममा भएको संरचनागत त्रुटि सच्याउँदै फेरि सुरुङमा पानी पठाएर परीक्षण गर्न लागिएको हो।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आगामी फागुन पहिलो साता आयोजनाको सुरुङमा पानी पठाएर फेरि परीक्षण सुरु गरिने बताए। ‘विगतको कमजोरी सच्याउँदै फेरि सुरुङमा पानी पठाएर परीक्षण गर्न लागेका हौं,’ उनले भने, ‘दातृ निकाय र जर्मनबाट आएका विज्ञले दिएको सुझाव अनुसार सुरुङको अवस्था, गेट जडान लगायतको काम सम्पन्न भइसकेको छ।’
आयोजनाले आगामी वैशाख १ गतेअगावै सबै प्रकारको परीक्षणका काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार सुरुङमा मार्च पहिलो सातासम्म पानी भरेर राखिनेछ। त्यसैगरी, मार्च अन्तिम सातामा सुरुङको पानी फ्याँकेर फेरि आवश्यक निरीक्षण गरिनेछ। अप्रिल पहिलो सातादेखि फेरि सुरुङमा पानी भर्न थालिनेछ। सुरुङको अपरेसन तथा कमिसनिङको काम भने वैशाखदेखि गरिनेछ। आयोजनाका कार्यकारी निर्देशक खत्रीले आगामी वैशाखभित्रै उपत्यकामा पानी झार्ने लक्ष्यसहित काम गरिरहेको बताए।
‘नयाँ वर्षभित्रै मेलम्चीको पानी उपत्यकावासीको परीक्षणको रूपमा ल्याउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘अन्य कुनै समस्या नआएको खण्डमा पानी भित्रिनेछ।’ आयोजनाले सुरुङमा पानी भरिएसँगै कम्तीमा आठदेखि १० दिनसम्म होल्ड गरेर प्रेसर जाँच गरिने जनाएको छ। सुरुङमा होल्ड गरिएको पानी बाहिर फ्याँक्न फेरि १० देखि १२ दिन लाग्नेछ। कार्यकारी निर्देशक खत्रीले सुरुङमा पानी भर्दा र पानी फ्याँक्दा दुवै कार्यमा निकै सावधानी अपनाउनुपर्ने बताए। ‘सुरुङमा एक्कासि धेरै पानी भर्नु पनि हुँदैन, बाहिर फ्याँक्न पनि मिल्दैन,’ उनले भने, ‘यो निकै प्राविधिक र संवेदनशील भएकाले धेरै समय लाग्छ।’ आयोजनाले सुरुङको पानी बाहिर फ्याँकेसँगै कतै सुरुङमार्गमा क्षति पु¥याएको छ कि छैन भनेर एक सातामा निरीक्षण तथा भत्केको खण्डमा मर्मतसम्भार गर्नेछ।
आयोजनाले सुरुङमार्गको सम्पूर्ण प्राविधिक तथा अन्य प्रक्रिया पूरा गरेपछि मेलम्चीको हेडवक्र्सस्थित अस्थायी बाँधबाट पानी सुरुङमार्फत सुन्दरीजल ल्याइएको छ। खत्रीले मेलम्चीको पानी सुन्दरीजल आएसँगै पुरानो पाइपलाइनबाट उपत्यकाबासीको घरघरमा पठाइने बताए।
‘मेलम्चीको पानी सुन्दरीजल आइपुगेसँगै पहिलो चरणमा पुरानै पाइपलाइनबाट उपत्यकाबासीको घरघरमा पठाइनेछ,’ उनले भने, ‘मेलम्चीको नयाँ पाइपमा पानी टेस्टिङ गर्दै उपत्यकाबासीको घरमा मेलम्चीको पानी पठाइनेछ।’ सुरुङको क्षमता दैनिक ५१ करोड लिटर पानी ल्याउने छ। अहिले दैनिक १७ करोड लिटर मात्रै ल्याइनेछ।
प्रतिक्रिया दिनुहोस