aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रोकियो एमबिबिएसको प्रवेश परीक्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
रोकियो एमबिबिएसको प्रवेश परीक्षा

धरान  । कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस/बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

एमबिबिएसरबिडिएसको परीक्षा स्थगित भए पनि पोस्ट ग्र्याजुएट (एमडी÷एमडिएस÷एमएस) को परीक्षा भने यो शनिबार (असार ७) निर्धारित मितिमा नै हुनेछ। केही दिनअघि शिक्षामन्त्री एवं चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष गिरिराजमणि पोखरेल र बिपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारबीच परीक्षाबारे छलफल भएको थियो।

मन्त्री पोखरेल र उपकुलपति रौनयारबीच प्लस–टुको रिजल्ट आएपछि नेपाली विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सामेल हुने वातावरण तयार गर्नेबारे छलफल भएको थियो। ‘मन्त्रीज्यू चिकित्सा आयोगका सहअध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग छलफल हुँदा नेपाली विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने अवस्था बनाउन प्लस–टुको रिजल्ट पर्खन भन्नुभयो,’ उपकुलपति डा. रौनियारले भने, ‘यो कुरालाई सकारात्मक रूपमा लिँदै प्लस–टुको रिजल्ट नआएसम्म युजी (अन्डर ग्र्याजुएट) को परीक्षा स्थगित गर्‍यौं।’

उपकुलपति रौनियारका अनुसार साउन दोस्रो साता प्लस–टुको रिजल्ट आउने अपेक्षा गरिएको छ। प्लस–टुको रिजल्ट आएपछि पुनः फारम खुला गरिनेछ। त्यसबेला अहिले फारम भरिसकेका विद्यार्थीलाई पनि मान्यता दिइने रौनियारले बताए।

‘यो निर्णयले नेपाली विद्यार्थी पनि युजीको प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्,’ उनले भने। यसअघि प्रतिष्ठानले जुलाई २८ मा अन्डर ग्र्याजुएटको प्रवेश परीक्षाको मिति तोकेको थियो।

सरकारले चिकित्सा शिक्षाको प्रवेश परीक्षा केन्द्रीकृत रूपमा लिने गरी चिकित्सा शिक्षा आयोग गठन गरेको छ। तर, आयोगले गत वर्ष पनि परीक्षा लिन सकेन। यो वर्ष पनि आयोगले परीक्षा लिन नसकेपछि प्रतिष्ठानलाई नै परीक्षा लिन पत्राचार गरेको थियो।

सोहीअनुसार प्रतिष्ठानले प्रवेश परीक्षाको प्रोस्पेक्टस प्रकाशित गरेर परीक्षाको मितिसमेत तोकिसकेको थियो। प्रतिष्ठाका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार परीक्षा समितिले मंगलबार अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस