काठमाडौं । शेयर बजारमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ६ हजार पुगेको छ । आफूलाई पायक पर्ने स्थानबाट विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, ब्रोकर कार्यालय पुग्नुपर्ने झन्झट नहुनेलगायत कारण अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।
विद्युतीय माध्यमबाट हुने कारोबारमा लगानीकर्ताले आफैं सेयर किनबेच गर्ने हो । सेयर किनबेचका लागि ब्रोकरलाई भनिरहनुपर्दैन । आफैं बजारको फ्लोरसिट (सेयर किनबेचको अवस्था) हेरेर चाहेको मूल्यमा कारोबार गर्न सकिन्छ । ब्रोकरले आग्रह मानेनन्, समयमा अर्डर गरिदिएनन्, मूल्य फरक पारेर किनबेच गरिदिए भन्ने गुनासो रहँदैन । आफैं बजारमा माग र आपूर्तिको अवस्था हेरेर चाहेको मूल्यमा सेयर किनबेच गर्न सकिने भएकाले अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बनेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको भनाइ छ । ‘एक पटक लगइन लिएर कारोबार सुरु गरेपछि सेयर किनबेच गर्न सजिलो छ,’ उनले भने, ‘सेयर खरिदका लागि अरूलाई भनिरहनुपर्दैन ।’ पछिल्लो समयमा ‘पासवर्ड’ र ‘युजरनेम’ लिनेको संख्या बढ्नुले पनि अनलाइन कारोबारमा आकर्षण बढेको देखाउने उनले बताए ।
नेप्सेको तथ्यांकअनुसार हाल दैनिक कारोबारमा ८५ देखि ९० प्रतिशत कारोबार अनलाइन ९विद्युतीय० माध्यमबाट हुने गरेको छ । अनलाइन कारोबारका लागि आइतबारसम्म ३ लाख ६ हजार ६२ जनाले ‘पासवर्ड’ र ‘युजरनेम’ लिएका छन् । सोही अवधिमा ८ सय ८४ जना कर्पोरेट र ३९ वटा सामूहिक लगानी कोषले ‘पासवर्ड’ र ‘युजरनेम’ लिएका छन् । अनलाइन कारोबार गर्ने लगानीकर्तामध्ये २ लाख ३ हजार ७ सय ५२ जना पुरुष र १ लाख २ हजार २ सय १६ जना महिना छन् । बाँकी ९४ जना अन्य रहेको नेप्सेले जनाएको छ ।
पुँजीबजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले २०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदाताका लगइन लिने लगानीकर्ता संख्या न्यून थियो । गत चैत ६ सम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो । अनलाइन कारोबार सबैका लागि नयाँ भएको, नेप्सेको कारोबार प्रणालीमा पटकपटक समस्या देखिएको, लगानीकर्ता प्रविधिमा बानी नपरेकोलगायत कारण सुरुमा थोरैले मात्र लगइन लिएका थिए । पछिल्ला महिनामा अनलाइन कारोबारका लागि लगइन लिनेमा सर्वसाधारणदेखि सरकारी तथा निजी क्षेत्रका कर्मचारी, शिक्षक, चार्टर्ड एकाउन्टेन्टलगायत वाणिज्य तथा व्यावसायिक क्षेत्रका धेरै रहेको ब्रोकरहरू बताउँछन् ।
गत चैत ११ देखि सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब तीन महिना बजार बन्द रह्यो । कोभिडको जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले उक्त अवधिमा ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको थियो । अहिले सोही क्रमले तीव्रता पाएको नेप्सेले जनाएको छ । लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र सञ्चालन हुन नसकेकाले धेरै उद्योगी व्यवसायीले पनि सेयर बजारमा लगानी बढाएको ब्रोकरहरू बताउँछन् । ‘पछिल्लो समय ‘युजर नेम र पासवर्ड’ लिनेमा उद्योगी व्यवसायी धेरै छन्,’ एक ब्रोकरले भने, ‘अहिले उनीहरूले अनलाइनमार्फत कारोबार गरिरहेका छन् ।’
पुँजीबजारमा करिब २० लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता करिब पाँच लाख हाराहारीमा रहेको नेप्सेको तथ्यांक छ । नेप्सेका अनुसार गत आइतबारसम्म दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ताको संख्या करिब ४ लाख ९२ हजार ८ सय ८३ छ । गत भदौमा यो संख्या २ लाख ८८ हजार र गत चैत ६ मा यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेको लगानीकर्ता संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ ।
प्रतिक्रिया दिनुहोस