aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

शुरु भयो २ लाखलाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ माघ २०७७
शुरु भयो २ लाखलाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना सकिएपछि शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख बरोजगारले रोजगारी पाउने भएका छन् । सो कार्यक्रम अन्तर्गत महिनामा औसत ६ दिन काम पाउने छन् । हालसम्म ११ हजार ७ सय ६५ जना बेरोजगारले  ६९ हजार ९०६ दिन बराबरको रोजगारी पाएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले सो कार्यक्रमको लागि  १० अर्ब ३४ करोड विनियोजन गरेको छ । 

कार्यक्रमले औसत ५ सय रुपैयाँ ज्याला दिएर सूचीकृत बेरोजगारलाई वर्षमा १ सय दिनको ज्याला दिने गरी रोजगारी  प्रदान गर्ने मन्त्रालयका सचिव तोयम रायाले बताए । ‘स्थानीय तहमा साउनमा नै उक्त कार्यक्रम सञ्चालन गर्नको लागि अख्तियारी गएको हो,’ उनले भने ‘बेरोजगार बढी भएका स्थानीय तहमा बजेट अपुग भए फेरि पनि दिनु पर्ने हुन्छ । एउटा स्थानीय तहलाई यति भन्दा पनि आवश्यकता र बेरोजगारको सूची अनुसार न्यूनतम एक दिन काम दिने सरकारको योजना हो ।

उक्त आयोजनामा अहिलेसम्म स्थानीय तहहरूले ३ हजार २३ वटा साना आयोजनामा श्रमिकले काम गरेको बताएको छ । मन्त्रालयका अनुसार यो अवधिमा करिब ७ अर्ब बजेट बजेट स्थानीय तहहरुमा पठाइसकिएको छ । २ लाख बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी उपलव्ध गराउने सरकारको योजना भएको सचिव रायाले बताए । ‘स्थानीय तहसँग बेरोजगारहरूको सूची छन्,’ उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रावधानअनुसार बेरोजगारले रोजगारी पाउँछन् ।’ हाल स्थानीय तहको रोजगार सेवा केन्द्रमा ७ लाख ४३ हजार २०५ जना बेरोजगार सूचीकृत भएका छन् । 

स्थानीय तहमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममूलक विधिबाट आयोजना कार्यान्वयन गराउने सरकारको तयारी हो । विगतका वर्षहरूमा पनि  यो कार्यक्रम अन्तर्गत सडकको नाली सफा गर्ने, झार उखेल्ने, सडक तथा मन्दिर बढार्ने लगायतका काम लगाएर सरकारले आफ्ना कार्यकर्तालाई अर्बौ रुपैयाँ खर्चिएको थियो । यो कार्यक्रमको जनसमुदायबाटै आलोचना भएपनि यस वर्ष फेरि त्यसरी नै यो कार्यक्रम लागू भएको छ । 


 

प्रतिक्रिया दिनुहोस