aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मुलुकको वर्तमान आर्थिक स्थिति

धान्नै नसकिने मूल्यवृद्धि, थेग्नै नसकिने घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
धान्नै नसकिने मूल्यवृद्धि, थेग्नै नसकिने घाटा

काठमाडौं । चालू आर्थिक वर्षमा मूल्यवृद्धि दर ह्वात्तै बढेको छ । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, घिउतेल, माछामासु लगायत महंगो हुँदा मूल्यवृद्धि दर बढेको हो । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा खाद्य र गैरखाद्य दुवै समूहको मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले देखाएको छ । त्यस्तै चालू खाता घाटा र शोधनान्तर स्थिति पनि अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको देखिएको छ । 

मुद्रास्फीति ५.३ प्रतिशतः
चालू आवको चैत्र मसान्तसम्म ४ दशमलव ४ प्रतिशत रहेको मुद्रास्फीति वैशाख महिनामा ५ दशमलव ३ प्रतिशत पुगेको छ । खाद्य सेवाभन्दा गैरखाद्य समूहको मुद्रास्फीति बढिरहेको छ । चालू आवको १० महिनामा यो समूहको मूल्यबृद्धि ५ दशमलव ८ प्रतिशत पुगेको छ । 

खाद्य समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । खाद्यान्न, तरकारी, माछामासु तथा घिउतेलको मूल्य बढ्दा यो समूहको मुद्रास्फीति बढेको हो । तरकारीको मूल्य ६.३ प्रतिशत, माछामासुको मूल्य ४.७ प्रतिशत तथा घिउतेलको मूल्य ८.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सरकारले चालू आवको मुल्यबृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । 

शोधनान्तर घाटा ६८ अर्ब २० करोडः 
शोधनान्तर स्थिति अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा शोधनान्तर घाटा करिब ४० अर्ब रुपैयाँले बढेको छ।

चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा शोधनान्तर ६८ अर्ब २० रुपैयाँ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको थियो।  आयात उच्च दरले बढ्नु, अध्ययन, स्वास्थ्योपचार, विदेश घुमफिर लगायतमा मुद्रा बाहिरिँदा शोधनान्तर घाटामा बढोत्तरी भएको केन्द्रीय बैंकको निष्कर्ष छ । 

चालुू खाता २ खर्ब २१ अर्ब ४० करोड घाटामाः
मुलुकको चालू खाता पनि घाटामा छ । राष्ट्र बैंकको तथ्यांकका अनुसार चालू खाता २ खर्ब २१ अर्ब ४० करोड घाटामा छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चालू खाता घाटा करिब ३० अर्ब रुपैयाँले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रुपैयाँ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.६ प्रतिशतले बृद्धिः 
वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्या घटे पनि उनीहरुले पठाउने विप्रेषण भने बढेको छ । चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बृद्धि भएको देखिन्छ । गत आवको सोही अवधिमा ७ प्रतिशतले बढेको विप्रेषण आप्रवाह चालू आवको १० महिनामै यति धेरैले बढेको हो । विप्रेषण आप्रवाह १० महिनाको अवधिमा ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । 

विदेशी विनिमय सञ्चिती १० खर्ब ६० अर्ब ७० करोडः 
चालू आवको १० महिनामा विदेशी विनियम सञ्चिती १० खर्ब ६० अर्ब ७० करोड रहेको छ । उक्त विदेशी विनियम सञ्चितीले ८ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सक्ने देखिएको छ । विदेशी विनियम सञ्चिती गत आवको असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड थियो । 
 

प्रतिक्रिया दिनुहोस