aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिमभन्ज्याङ,पालुङ र टिस्टुङमा बाक्लो हिमपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ माघ २०७७
सिमभन्ज्याङ,पालुङ र टिस्टुङमा बाक्लो हिमपात
फाइल तस्विर


मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको उत्तरी क्षत्र सिमभन्ज्याङ, दामन, पालुङ, टिस्टुङ र चित्लांग लगायतभरि हिमपात भएको छ । उक्त क्षेत्रमा धेरै वर्ष पछि बाक्लो हिउँ परेको थाहा नगरपालिकाका नगर प्रमुख लबशेर विष्टले बताएका हुन । थाहा नगरपालिकाका सबै जसो क्षेत्रमा हिमपात भएको र केहि स्थानमा बाटो समेत अवधरोध भएको उनले बताए । 

त्रिभुवन राजपथहुँदै पुगिने इन्द्रसरोवर महाभारत श्रृंखलामा पर्ने नेपालको एकमात्रै पहाडी उपत्यका हो । 

काठमाडौंबाट दामनमा पुगेर हिँउ खेल्ने मानिसको घुइचो लाग्ने गरेको छ । थानकोट, नौबिसे हुँदै त्रिभुवन राजथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ ।

चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट करिब ५५ किलोमिटर  पार गरेपछि दामन पुगिन्छ ।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ ।

दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ ।

दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् । दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने टिस्टुङ, पालुङमा होमस्टे सुविधा पनि छन् ।

थाहा नगरपालिकामा पर्ने दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्वालीले छाएका परम्परागत बस्तीहरु यथेष्ट भेटिन्छ्न् ।

दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु आउँछन् । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ ।

पर्यटकीय महत्वपूर्ण दामनसहित थाहानगरको  कोभिडका कारण लामो समयदेखि होटलहरु बन्द रहेका थिए । सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५  गतेबाट मात्र सञ्चालनमा आएपछि व्यवसाय भने हुन सकिरहेको थिएन । तर, धेरै वर्षपछि यस क्षेत्रमा बाक्लो हिमपात भएकाले आन्तरिक पर्यटक आउने र व्यापार हुनेमा व्यापारीहरु खुशी भएका छन् । 

प्रतिक्रिया दिनुहोस