aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सेवाशुल्कबाट अर्बौं आम्दानी गर्ने बैंक करोडमा सीमित

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २५ माघ २०७७
सेवाशुल्कबाट अर्बौं आम्दानी गर्ने बैंक करोडमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइ र कोभिडका कारण अधिकांश वाणिज्य बैंकको सेवाबापतको शुल्क आम्दानीमा संकुचन आएको छ । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको सेवाशुल्क आम्दानी गतवर्षको तुलनामा घटेको छ । बैंकहरूले सेवाशुल्क धेरै लिएको गुनासो आएपछि राष्ट्र बैंकले चालू आवमा सीमा तोकेर नियन्त्रण पनि गरेको छ ।

चालू आवको पुसमा सेवाशुल्कबाट सबैभन्दा बढी आम्दानी गर्ने एनआईसी एशिया बैंकको पनि गतवर्षको तुलनामा ३४ दशमलव १९ प्रतिशतले आम्दानी घटेको छ । यो बैंकको सेवाशुल्कबापतको आम्दानी गतवर्ष अर्बमा थियो । तर, यसपटक भने करोडमा सीमित छ । चालू आवको दोस्रो त्रैमासमा उक्त बैंकले ८५ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र सेवाशुल्कबापत आम्दानी गरेको छ । गत आवको पुसमा यस्तो आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो ।

पहिला दूरदराजमा कर्जा प्रवाह गर्ने, लघुवित्त र सहकारीहरूले ओगटेका तथा अन्य वाणिज्य बैंकको पहुँचमा नआएका ग्राहकसँग कम ब्याजदर लिएर सेवाशुल्क बढी लिने गरेको छ । तर, राष्ट्र बैंकले कडाइ गरेपछि सेवाशुल्क आम्दानी घटेको एनआईसी एशिया बैंकका सूचना अधिकारी अर्जुनराज खनियाले बताए । ‘दूरदराजका ग्राहकलाई सेवा दिँदा बैंकको लागत पनि महँगो पर्न जान्छ । त्यहीअनुसार ग्राहकलाई ब्याजदर कम गर्ने तर सेवाशुल्क अलिकति बढी अर्थात् लघुवित्त, सहकारीहरूले लिएजति लिने गरेका थियौं । त्यसैले बिजनेशमा पनि राम्रो वृद्धि भएको र सेवाशुल्क आम्दानी पनि राम्रो थियो,’ उनले अभियानसँग भने, ‘तर, यसबीचमा सेवाशुल्क बैंकहरूले असाध्यै लिए भनेर गुनासो आयो । त्यसपछि राष्ट्र बैंकले सेवाशुल्कमा कडाइ गर्‍यो । त्यसैले सेवाशुल्क घटेको हो ।’

सेवाशुल्कमा संकुचन आउँदा खुद नाफामा पनि प्रभाव पार्ने उनको भनाइ छ । उनले सेवाशुल्क कम गरेपछि ब्याजदरमा चाप पर्ने बताए । ब्याजदर निर्धारणका लागि केन्द्रीय बैंकले ४ दशमलव ४ प्रतिशतको स्प्रेड दर ९कर्जा–निक्षेप ब्याजदर अन्तर० तोकेको छ । सोही आधारमा स्प्रेडदर भएकाले ब्याजदरमा चाप धेरै पार्न नसकिने उनले बताए ।

कृषि विकास बैंकको सेवाशुल्कबापतको आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा साढे २९ प्रतिशत कमी आएको छ । गत आवको पुसमा ९९ करोड ६४ लाख रुपैयाँ सेवाशुल्कबाट आम्दानी गरेको यो बैंकले चालू आवको पुससम्म भने ७० करोड २३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । चालू आवको शुरूदेखि कोभिड महामारीले गर्दा आमग्राहकलाई बैंकहरूले डिजिटल कारोबार गरेबापतको सेवाशुल्कमा छूट दिएकाले पनि यसबापतको आम्दानी घटेको कृषि विकास बैंकका प्रवक्ता हेमलाल पौडेल बताउँछन् ।

‘कोभिडका कारण लामो अवधिसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कारोबार शुल्कमा छूट गरियो,’ उनले थप्दै भने, ‘यससँगै १ वर्षअघिदेखि २० लाख रुपैयाँसम्मको ऋणमा सेवाशुल्क लिन नपाउने भनेको छ । त्यही कारण सेवाशुल्क आम्दानी घटेको हो ।’

चालू आवको पुसमा नेपाल बंगलादेश बैंकको सेवाशुल्क आम्दानी ८ दशमलव ६२ प्रतिशतले घटेर ४९ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, सेवाशुल्कबाट सन्राइजले ४८ करोड, सिद्धार्थ र नेपाल इन्भेस्टमेन्ट बैंकले रू।४६ करोड आम्दानी गरेका छन् ।

नेपाल एसबीआईले ४२ करोड, एभरेस्ट र नेपाल बैंकले ३५ करोड आम्दानी गरेका छन् । स्ट्यान्डर्ड चार्टर्डले रू। ३० करोड, हिमालयन बैंकले २९ करोड र बैंक अफ काठमाडौंले २७ करोड रुपैयाँ बराबरको सेवाशुल्कबापत आम्दानी गरेका छन् । यी बैंकबाहेकका १४ ओटा वाणिज्य बैंकको भने यसपटक सेवाशुल्क आम्दानी गत आवको भन्दा बढी देखिएको छ ।

गतवर्षको तुलनामा २१ दशमलव ४१ प्रतिशत बढी सेवाशुल्क आम्दानी गरेको सानिमा बैंकले चालू आवको पुसमा ४३ करोड ४८ लाख रुपैयाँँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा सो शीर्षकमा रू। ३५ करोड ८१ लाख रुपैयाँँ आम्दानी गरेको थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल गतवर्षको ६ महीनामा भन्दा अहिलेको ६ महीनामा कर्जा प्रवाह पनि राम्रो बढेकाले यसबापत प्राप्त भएको सेवाशुल्कबाट आम्दानी बढेको बताउँछन् ।

विगतका वर्षमा नेपाल राष्ट्र बैंकले ८० प्रतिशतको कर्जा पूँजी निक्षेप अनुपात ९सीसीडी० तोक्ने गथ्र्यो । तर, चालू आवमा भने यसको दायरा बढाएर ८५ प्रतिशत पुर्‍याएको छ । यो मौकामा सानिमा बैंकसहित करीब ५ ओटा बैंकले सीसीडी ८१–८२ हाराहारीमा पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस